बुटवल । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइते छन् । तीमध्ये एकैघरका ७ जना थिए भने अन्य ७ जना पनि उनीहरूकै आफन्त थिए ।
दुर्घटनामा परी रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय गोर्ख बिसी, उनकी आमा ५२ वर्षीयता तिलकुमारी बुढाथोकी, १० वर्षीय दिव्यन बिसी र २८ वर्षीय भाउजू युभा बिसीको मृत्यु भएको छ ।
वडाध्यक्ष वीरेन्द्र बस्नेतका अनुसार गोर्ख बिसीकी सानीआमा ४० वर्षीया ओमकुमारी बुढाथोकी, उनकी २४ वर्षीयता छोरी सिर्जना बुढाथोकी र १३ वर्षीय छोरा सुदीप बुढाथोकीको मृत्यु भएको छ ।
बस्नेतका अनुसार मृतक युभा बिसीको माइतीतर्फ दाङ घोराही–१५ रतनपुरकी ५४ वर्षीया द्रोपदा जिसी, यमबहादुर जिसी, २५ वर्षीया एलिसा जिसी र ३२ वर्षीया तिला विष्ट जिसीको पनि ज्यान गएको छ ।
त्यस्तै एलिसाका छोरा संयोग जिसी तथा तिलाका सन्तान जेनिसा र जेनिस जिसीको दुर्घटनामा परी मृत्यु भएको छ । उक्त दुर्घटनामा घोराही उपमहानगरपालिका–१३ की धनमाया विष्टको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने–५ बस्दै आएका जीप चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीयता मीना कमिनी, ६० वर्षीय लक्ष्मी शाह, भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र २७ वर्षीया रुपमिना बस्नेतको पनि मृत्यु भएको छ ।
प्रहरीका अनुसार तीर्थयात्री बोकेको जीप पूर्णिमाको मेला भर्न जाँदै गर्दा दुर्घटनामा परेको हो । एक जना घाइतेको उपचार भइरहेको छ ।





















प्रतिक्रिया