Logo

अर्थ

शेखर गोल्छालाई हिरासतमा राख्न जिल्ला अदालतले दिएन अनुमति



काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ ।

जिल्ला अदालतको यो आदेशसँगै अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्नेछ ।

न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद गर्न मिलेन ।’

यसअघि सोमबारमात्रै सर्वोच्च अदालतले धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाएको भनी धितोपत्र कसुरको अनुसन्धानमाथि प्रश्न उठाएको थियो । त्यतिबेला सर्वोच्च अदालतले बीमासम्बन्धी कसुरमा रिट निवेदनमा मागदाबी नभएको भन्दै केही बोल्न अस्वीकार गरेको थियो ।

सर्वोच्चको आदेश आउनासाथ सीआईबीले गोल्छालाई धितोपत्रसम्बन्धी कसुरको साटो बीमासम्बन्धी कसुरको आरोपमा अनुसन्धान अघि बढाइएको भन्दै रिहा गर्न मानेको थिएन ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलवार १६:३१   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।