काठमाडौं । इरानसँगको तनावपूर्ण द्वन्द्व पुनः चर्किएसँगै विश्व ऊर्जा बजारमा अस्थिरता बढेको छ, जसको प्रत्यक्ष असर अमेरिकामा पेट्रोलको मूल्यमा देखिएको छ।
पछिल्लो तथ्यांकअनुसार त्यहाँ पेट्रोलको मूल्य करिब ५० प्रतिशतले वृद्धि भई औसत प्रतिग्यालोन ४.४८ डलर पुगेको छ। मात्र एक साताको अवधिमा ३१ सेन्टले मूल्य बढ्दा उपभोक्ताको दैनिक खर्च र यातायात क्षेत्र थप प्रभावित बनेको छ।
विशेषज्ञहरूले मूल्य वृद्धिको प्रमुख कारण विश्वव्यापी ऊर्जा आपूर्ति संकटलाई मानेका छन्। विशेषगरी कच्चा तेलको आपूर्ति तथा वितरण प्रणालीमा आएको अवरोधले बजारमा दबाब सिर्जना गरेको छ।
फारस खाडीस्थित महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरूमार्गमा बढ्दो तनावका कारण तेल ट्यांकरहरूको आवागमन प्रभावित हुँदा आपूर्ति श्रृंखला अवरुद्ध बनेको हो।
विश्वको झण्डै एक–पाँचौं कच्चा तेल यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यहाँको अवरोधले विश्वव्यापी प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।
यसअघि अप्रिल महिनामा द्वन्द्व केही मत्थर हुने संकेत देखिएपछि बजारमा आशा पलाएको थियो र पेट्रोलको मूल्यमा सामान्य गिरावट आएको थियो। तर पुनः तनाव बढेसँगै कच्चा तेलको मूल्य उकालो लाग्न थालेको छ, जसको असर पेट्रोल पम्पसम्म देखिन थालेको हो।
विश्लेषकहरूले यो अवस्था लम्बिएमा मुद्रास्फीति अझ चर्किने, ढुवानी लागत बढ्ने र विश्व अर्थतन्त्रमा थप दबाब पर्ने चेतावनी दिएका छन्। इन्धन महँगिँदा उपभोक्ताले अन्य वस्तु तथा सेवाको मूल्यमा समेत वृद्धि अनुभव गर्नुपर्ने सम्भावना औंल्याइएको छ।





















प्रतिक्रिया