काठमाडौं । राज्यका पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा भएकाे खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, जनस्वास्थ्य ऐनको प्रतिकूल हुनेगरी त्यसरी राज्यकोषबाट गरिएको खर्च फिर्ता गराउनुपर्ने मागसहित रिट निवेदन दर्ता भएको हो ।
त्यस्तै प्रकृतिको उपचार खर्च भुक्तान भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन । बिहीबार दर्ता भएको रिट निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुनेछ ।
सर्वोच्च अदालतले १४ वैशाखमा राज्यका पूर्वविशिष्ट व्यक्ति(भीआईपी)हरूले विदेशमा उपचार गराउदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको थियो ।
सर्वोच्च अदालतले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी(दोस्रो संशोधन) कार्यविधि, २०७३ को दफा १२(१) खारेज गरेको हो । उक्त दफामा पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने व्यवस्था थियो ।
ती पूर्व विशिष्ट व्यक्तिको परिभाषामा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्व सांसद र पूर्व संवैधानिक पदाधिकारी समेत पर्थे ।
सर्वोच्च अदालतले कार्यविधिमा भएको व्यवस्था मात्रै खारेज गरेको थियो । त्यतिबेला रिट निवेदनमा अधिवक्ता रादिका चम्लागाईले संविधानका दुईवटा धारा र एउटा ऐनको व्यवस्थासँग कार्यविधिमा भएको व्यवस्था बाझिएको भन्दै विशिष्ट व्यक्तिहरुले विदेशमा उपचार गराउन पाउने कार्यविधि खारेजीको माग राखेका थिए ।





















प्रतिक्रिया