काठमाडौं । पूर्वमहान्याधिवक्ता रमेश बडालले वर्तमान सरकार सत्ता कब्जाको दिशातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् ।
नेपाल बार एसोसिएसनको संवैधानिक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार स्थापित संयन्त्रलाई कमजोर बनाउने बाटोमा लागेको टिप्पणी गरे ।
उनले विगतमा सरकार परिवर्तन भए पनि राज्य सञ्चालनको विधि र संस्थागत निरन्तरता कायम रहने गरेको उल्लेख गर्दै अहिले भने परिस्थिति फरक देखिएको बताए ।
उनले भने, ‘निर्वाचन भयो नयाँ सरकार बन्यो । नयाँ सरकार बनिसकेपछि अब धेरै कामहरु थिए होलान् राम्रो पक्षमा जाने, तर सरकार स्थापित संयन्त्रलाई भत्काउने बाटोतिर लाग्यो ।
पहिला राजनीतिक नेतृत्वमा मात्रै परिवर्तन हुन्थ्यो, यसभन्दा अगाडि सरकार परिवर्तन भए, सरकार मात्र परिवर्तन भएको होइन सत्ता नै परिवर्तन भएको छ ।
वि.स.२०६३।०६३ को जनआन्दोलन पछाडि, राजतन्त्र समाप्त गरेर गणतन्त्र स्थापना गरिएको हो । गणतन्त्र स्थापना हुँदाखेरि धेरै कुराहरुलाई त्यतिखेर ध्वस्त पारिएको थिएन । जुन काम अहिले प्रारम्भ गरिएको छ ।’
उनका अनुसार २०६२÷६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भए पनि त्यसबेला राज्यका सबै संरचना ध्वस्त पार्ने प्रयास गरिएको थिएन । तर अहिले सरकारले स्थापित संयन्त्रमाथि हस्तक्षेप गर्न खोजेको उनको आरोप छ ।
बडालले वर्तमान अवस्थामा ‘सत्ता कब्जा’ को प्रवृत्ति देखिएको दाबी गर्दै प्रशासनिक संयन्त्र र ब्यूरोक्रेसीलाई समेत राजनीतिक प्रभावमा चलाउन खोजिएको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार यत्रतत्र सर्वत्र घण्टीकरण गरिएको टिप्पणी गरे ।





















प्रतिक्रिया