काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि (सोमबार) सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि ल्याइने यस कार्यक्रमका लागि सरकारले अन्तिम समयमा आएर जनसुझाव माग गरेको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक हुनुभन्दा मात्र तीन दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुझाव संकलनका लागि छुट्टै ‘डिजिटल पोर्टल’ सञ्चालनमा ल्याएको हो ।
विगतमा बजेट र नीति तथा कार्यक्रम निर्माणमा अर्थ मन्त्रालयको मुख्य भूमिका रहने गरे पनि यस पटक प्रधानमन्त्री कार्यालयले विशेष चासो देखाएको छ । प्रधानमन्त्रीले यसअघि विभिन्न प्रदेशका सांसदहरूसँगको भेटघाटका क्रममा पनि आगामी बजेटका लागि आवश्यक सुझावहरू आफ्नो सचिवालयमा लिखित रूपमा बुझाउन निर्देशन दिएका थिए । सोही सक्रियतालाई निरन्तरता दिँदै आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न यो पोर्टल सुरु गरिएको सरकारको दाबी छ ।
सरकारका अनुसार, नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समावेश गरी शासन व्यवस्थालाई थप जनमुखी र पारदर्शी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्म ल्याइएको हो । प्रशासनिक घेराभन्दा बाहिर निस्किएर विज्ञ र सर्वसाधारणको भावना कदर गर्ने प्रधानमन्त्रीको योजना अनुरूप यो कदम चालिएको बताइएको छ ।





















प्रतिक्रिया