काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंकिङ क्षेत्रमा तरंग उत्पन्न भएको छ।
स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण राखिएका घर तथा जग्गाको भाडा भुक्तानी नगरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार राति पाण्डेलाई ठगी र आपराधिक विश्वासघातसम्बन्धी आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
घटनापछि बैंकले विज्ञप्ति जारी गर्दै पक्राउप्रति असन्तुष्टि जनाएको छ। बैंकका अनुसार स्मार्ट टेलिकमका उपकरण लिलामीबाट प्राप्त रकम सुरक्षित अवस्थामा रहेको र कानुनी प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित पक्षलाई भुक्तानी गरिने व्यवस्था गरिएको छ।
स्मार्ट टेलिकमले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि उपकरणहरू ४ अर्ब ६० करोड रुपैयाँमा लिलामी गरिएको थियो।
बैंकका अनुसार उक्त रकममध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण (सिन्डिकेटेड लोन) अन्तर्गतको साँवा–ब्याज असुलीमा समायोजन गरिएको छ। बाँकी ३८ करोड रुपैयाँ भने घरभाडा तथा अन्य बक्यौताका लागि छुट्टै खातामा राखिएको बैंकले जनाएको छ।
बैंकले सम्बन्धित घरधनी तथा जग्गाधनीले आवश्यक कानुनी प्रमाण पेश गरेपछि मात्रै रकम भुक्तानी गरिने प्रक्रिया रहेको स्पष्ट पारेको छ। प्रमाणबिना रकम वितरण गर्न नमिल्ने भएकाले रकम ‘अर्नेस्ट मनी अक्सन अकाउन्ट’ मा सुरक्षित राखिएको बैंकको भनाइ छ।
यस घटनाप्रति नेपाल बैंकर्स संघ ले पनि गम्भीर चासो व्यक्त गरेको छ। संघले बैंकको व्यवसायिक निर्णय र कर्जा असुली प्रक्रियालाई लिएर सिइओमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएको छ।
बैंकरहरूबीच यस विषयमा रणनीति तय गर्न आकस्मिक बैठकको तयारी भइरहेको स्रोतले जनाएको छ। यसक्रममा बैंकका प्रतिनिधिहरूले नेपाल राष्ट्र बैंक का गभर्नर तथा सुपरिवेक्षण विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।
राष्ट्र बैंकले कर्जा असुली प्रक्रियामा बैंकको पहिलो अधिकार रहने र आवश्यक कानुनी सहयोग उपलब्ध गराइने आश्वासन दिएको बताइएको छ।
यता, सीआईबीले भने घरधनीहरूको उजुरी तथा रकम हिनामिनाको आशंकाका आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
बैंकले भने भाडा भुक्तानीकै लागि ३८ करोड रुपैयाँ सुरक्षित राखिएको अवस्थामा हिनामिनाको आरोप लगाइनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ।





















प्रतिक्रिया