Logo

अर्थ

‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप



काठमाडाैं । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत वैशाख २९ गतेदेखि खुला छ ।

यो योजनाका इकाई खरिदका लागि जेठ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर मागबमोजिम आवेदन प्राप्त नभएकाले यो योजनाको निष्कासन तथा बिक्री अवधि जेठ १२ गतेसम्मका लागि लम्बाइएको छ । तर यसबीचमा माग बमोजिम आवेदन प्राप्त भएमा भने जेठ १२ गते अगावै पनि इकाई बिक्री बन्द गरिनेछ ।

यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ४० लाख कोष प्रवद्धक रिलायबल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटललाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य)का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रिलायबल क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार ११:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।