Logo

अर्थ

सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि आइपिओ निष्कासन गर्ने



काठमाडाैं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रूपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रूपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ७० हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

यस्तै, १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरूले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १३:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।