काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आवेदन दिएकामध्ये ४ जना सर्टलिस्टमा परेका छन् । आवेदन दिने ४७ जनामध्ये ४ जना संक्षिप्त सूचिमा परेका हुन् ।
अध्यक्ष छनौट सिफारिस समितिकाअनुसार संक्षिप्त सूचीमा समावेश भएकाहरुमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट रहेका छन् । उनीहरूलाई जेठ ८ गते छलफलमा बोलाएको छ ।
छलफलपछि सिफारिस समितिले तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउनेछ । जसमध्येबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।
सर्टलिस्टमा परेका डा. नवराज अधिकारी सेबोनका पूर्वकार्यकारी निर्देशक हुन् । उनले करिब एक महिनाअघि मात्र सेवाबाट अवकाश पाएका थिए । त्यस्तै, विनयदेव आचार्य हाल सेबोनमै कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । मुकुन्द कुमार क्षेत्री सेबोनका पूर्वसञ्चालक हुन् भने डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यलाई समितिको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।





















प्रतिक्रिया