Logo

समाचार

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने



काठमाडौं । चन्द्रागिरि नगरपालिका र नेपाल प्रहरी बीच काठमाडौंको चन्द्रागिरि क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोहरूमा सिसिटिभी क्यामेरा जडान गर्न बिहीबार दुई पक्षबीच सम्झौता भएको हो । नगर क्षेत्रभित्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन क्यामेरा जडान गर्न लागिएको जनाइएको छ ।

समझदारीपत्रमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र ईश्वर कार्की ले हस्ताक्षर गरेका छन् ।

नगरप्रमुख गिरीले काठमाडौं उपत्यका भित्रिने सबैभन्दा ठूलो नाका नागढुङ्गा चन्द्रागिरि क्षेत्रमा पर्ने भएकाले शान्ति सुरक्षालाई प्रविधिमैत्री र प्रभावकारी बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए । उनले सिसिटिभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन स्थानीय सरकार र नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । उनले स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्दै प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

हाल चन्द्रागिरि नगरपालिकाभित्र करिब ४०० वटा सिसिटिभी क्यामेरा जडान भइसकेका छन् । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी ले क्यामेराको संख्या बढाएर एक हजार ५०० पुर्‍याउने लक्ष्यसहित नेपाल प्रहरीसँग सम्झौता गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १०:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।