काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ सेवालाई थप समावेशी, पहुँचयोग्य र सेवामुखी बनाउन ‘सरल बैंकिङ’ सम्बन्धी विशेष व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
बैंक तथा वित्तीय संस्थाले सबै वर्गका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने उद्देश्यसहित राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत नयाँ प्रावधान लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका ग्राहकका लागि छुट्टै विशेष काउन्टर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्नेछ।
यसअघि पनि यस्ता ग्राहकलाई प्राथमिकताका आधारमा सेवा दिनुपर्ने व्यवस्था भए पनि अब त्यसलाई थप स्पष्ट र बाध्यकारी बनाइएको छ।
राष्ट्र बैंकले पाँचभन्दा बढी शाखा रहेका स्थानीय तहमा कम्तीमा एउटा शाखा र एउटा एटीएम लाउन्जलाई अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था गरेको छ।
त्यस्ता शाखा तथा एटीएमहरूको विवरण सम्बन्धित बैंकले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।
निर्देशनमा अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ आफैं प्रयोग गर्न सक्षम रहेको स्वघोषणा गरेमा बैंकले त्यस्ता सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ।
बैंकहरूले जारी गर्ने डेबिट तथा क्रेडिट कार्ड स्पर्श गरेर चिन्न सकिने बनाउनुपर्नेछ भने एटीएममा ब्रेल संकेतयुक्त बटन र अडियो सपोर्ट अनिवार्य गरिएको छ।
त्यसैगरी, बैंकका वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकको यो व्यवस्थाले बैंकिङ क्षेत्रलाई केवल नाफामुखी नभई सामाजिक रूपमा उत्तरदायी र सबैका लागि पहुँचयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया