Logo

अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता धेरै हदसम्म निष्कर्षमा पुगेको र यसको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। उनले शनिबार थप विवरण नदिँदै उक्त सम्झौतामा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय समावेश हुने संकेत गरेका छन्।

यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै अमेरिका र इरानका दृष्टिकोणहरू पछिल्लो साता नजिकिँदै गएको बताएका थिए।

तर उनले प्रमुख मुद्दामा सम्झौता भइसकेको भन्ने निष्कर्ष निकाल्न नहुने भन्दै अमेरिकी पक्षबाट विरोधाभासपूर्ण अभिव्यक्ति आएको आरोप लगाएका थिए।

यसैबीच सामाजिक सञ्जालमा ट्रम्पले साउदी अरेबिया, यूएई, कतारलगायत देशका नेताहरूसँग शान्ति समझदारीबारे सकारात्मक छलफल भएको बताएका छन्। उनले अमेरिका, इरान र अन्य सम्बन्धित देशहरूबीच अन्तिम चरणमा पुगेको सम्झौताको धेरैजसो भाग टुंगिएको दाबी गरेका छन्।

ट्रम्पका अनुसार सम्झौताको अन्तिम पक्ष र विवरणमा छलफल भइरहेको छ र ती छिट्टै सार्वजनिक गरिनेछ। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि फोनवार्ता भएको र त्यो सकारात्मक रहेको जानकारी दिएका छन्।

उनले कुनै पनि सम्भावित सम्झौताले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने स्पष्ट लक्ष्य राखिएको बताएका छन्।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शान्ति प्रयासमा ट्रम्पको भूमिकाको प्रशंसा गर्दै उनलाई बधाई दिएका छन्। पाकिस्तानले वार्ता प्रक्रियामा मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गरिरहेको छ।

गत महिनादेखि पश्चिम एसियामा तनाव बढेपछि अमेरिका–इरान वार्ता र सम्भावित युद्धविरामबारे छलफल तीव्र बनेको बताइएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार १०:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।