Logo

समाचार

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु



काठमाडौं। गत वैशाख महिनामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा देशभर १२४ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै वैशाखमा ३७ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

प्रहरीका तथ्यांकअनुसार कोशी प्रदेशमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु तथा ५३ जना घाइते भएका छन्। मधेश प्रदेशमा २० दुर्घटनामा २७ जना घाइते भएका छन् भने बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन्।

त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन्।

कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका तीन दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रवक्ता काफ्लेले मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे। विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति बढी देखिने गरेको उनले बताए।

उनले मापसे गरेर सवारी चलाउनु कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गरे।

पछिल्लो समय ट्राफिक प्रहरीले देशभर मापसे नियन्त्रण अभियानलाई थप कडाइ गरेको जनाएको छ। शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा विशेष चेकजाँच बढाइएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मापसे गरेर सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको बताए।

“मापसे गरेर सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सबै चालक र सर्वसाधारणलाई आग्रह गरिरहेका छौं,” उनले भने।

उनका अनुसार मादक पदार्थ सेवनपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको जोखिम उच्च रहने गर्छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार ०७:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।