Logo

अर्थ

जानकी मेडिकल कर्जा प्रकरण: सीआईबीले तान्यो प्रभु बैंकका २ दर्जन कर्मचारी



काठमाडौं । प्रभु बैंक लिमिटेडबाट जानकी मेडिकल कलेजमा प्रवाह भएको अर्बौ रुपैयाँ कर्जा अपचलन प्रकरणमा बैंकका झन्डै २ दर्जन कर्मचारी तथा संचालक तानिएका छन्।

जानकी मेडिकल कलेजमाथिको प्रवाह भएको कर्जा अपचलनबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकका सञ्चालक, पूर्व उच्च अधिकारी र निवर्तमान कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित झन्डै दुई दर्जन कर्मचारीलाई बयानका लागि बोलाएको हो।

स्रोतका अनुसार सीआईबीले बैंककी बहलावाला संचालक, निवर्तमान कावा सीईओसहित सञ्चालक तथा उच्च तहकै कर्मचारीलाई समेत बयानका लागि तत्काल उपस्थित हुन निर्देशन दिएको हो।

सीआईबीले बयानका लागि बोलाइएकामध्ये संचालक अम्बिका शर्मा लामिछाने, विकास शाक्य, दक्ष पौडेल, कुसुम लामा, पुष्पबहादुर प्रधान, रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र अन्जु अधिकारीसहितका पूर्व तथा बहालवाला सञ्चालक रहेका छन्।

त्यस्तै, बैंकका पूर्व वरिष्ठ कर्मचारी तथा हाल कार्यरत उच्च अधिकारीहरू पनि अनुसन्धानमा तानिएका छन्। सीआईबीले निवर्तमान कावा सीईओ तथा सहायक महाप्रबन्धक निरज लम्साल, भेषराज खतिवडा, पूर्ण गुरुङ, प्रतीक भट्टचन, दिनेश डंगोल, प्रकाश बराल, सुरेश कंडेल, भावना खनाल र राजकुमार न्यौपानेलाई समेत बयानका लागि बोलाएको जनाएको छ।

प्रभु बैंकबाट जानकी मेडिकल कलेजमा प्रवाह गरिएको कर्जामा प्रक्रिया मिचिएको, अनियमितता भएको र कर्जा दुरुपयोग गरिएको आशंकामा सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको हो। प्रारम्भिक अध्ययनमा कर्जा स्वीकृति, धितो मूल्यांकन, जोखिम विश्लेषण तथा रकम प्रयोगसम्बन्धी विषयमा गम्भीर प्रश्न उठेपछि अनुसन्धान थप तीव्र बनाइएको स्रोतले जनाएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १३:०६   :  बजे

456
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।