Logo

समाचार

नेपाल–रोमानिया व्यापार सहकार्य विस्तारको ठूलो सम्भावना छ : सांसद पराजुली



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल–रोमानिया व्यापार मञ्च सम्बन्धी उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई देशबीचको वर्तमान व्यापार परिमाण सानो भएपनि आगामी दिनमा सहकार्यका धेरै क्षेत्र खुला रहेको उल्लेख गरे ।

उनले नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए ।

रोमानियालाई युरोपेली संघको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै उनले बजार पहुँच, प्रविधि हस्तान्तरण तथा औद्योगिक सहकार्यका लागि महत्वपूर्ण अवसर रहेको धारणा राखे ।

सांसद पराजुलीले नेपालमा पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादन क्षेत्रहरूमा रोमानियाली लगानीको स्वागत हुने बताए । साथै संयुक्त लगानीमार्फत दुवै देशमा रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र नवीनतालाई प्रोत्साहन गर्न सकिने उनको भनाइ थियो ।

उनले भने,‘नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको छ ।

नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्छ । नेपालमा पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादन क्षेत्रहरूमा रोमानियाली लगानीको स्वागत गर्न सकिन्छ ।’

उनले नेपाली कामदारहरू मेहनती, इमानदार र अनुकूलन क्षमतायुक्त भएको उल्लेख गर्दै सुरक्षित तथा व्यवस्थित श्रम आप्रवासन विस्तारले दुवै देशलाई फाइदा पुग्ने बताए ।
‘रोमानियाको श्रम माग पूरा हुनुका साथै नेपालको रेमिट्यान्स, सीप विकास र आर्थिक सुदृढीकरणमा पनि यसले योगदान पु¥याउँछ,’उनले भने ।
पराजुलीले श्रम आप्रवासनसँगै सीप आदानप्रदानमा पनि जोड दिनुपर्ने बताए ।

कार्यक्रममा उनले नेपाल र रोमानियाबीच पर्यटन तथा सांस्कृतिक आदानप्रदानले पनि दुई देशका नागरिकबीच सम्बन्ध थप मजबुत बनाउन सक्ने धारणा राखे ।

‘हिमालय र समृद्ध सांस्कृतिक सम्पदाको देश नेपालले रोमानियाली पर्यटकलाई स्वागत गर्छ, त्यसैगरी नेपालीहरूले पनि रोमानियाको इतिहास र युरोपेली सांस्कृतिक विविधताबाट लाभ लिन सक्छन्,’ उनले भने ।

उनले नेपाल–रोमानिया व्यापार मञ्चले संवादलाई व्यवहारिक साझेदारीमा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्दै निरन्तर सहकार्यले दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १८:४३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।