Logo

समाचार

प्रधान न्यायाधीश सिफारिस विवाद टुङ्गियो, सर्वोच्च प्रशासनको दरपीठ सदर



काठमाडौँ । प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालत प्रशासनले गरेको दरपीठ सदर भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सोमबार सर्वोच्च प्रशासनको दरपीठ निर्णयलाई सदर गरेको हो।

इजलासले प्रधान न्यायाधीश सिफारिससम्बन्धी प्रक्रिया कार्यान्वयन भइसकेको, संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइ सम्पन्न भएको तथा नियुक्तिसमेत भइसकेको अवस्थालाई आधार मान्दै निवेदकहरूको माग औचित्यहीन भएको ठहर गरेको छ।

यससँगै प्रधान न्यायाधीश सिफारिसविरुद्ध रिट दर्ता गर्ने बाटो बन्द भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र प्रेमराज सिलवालले आफूहरूले दर्ताका लागि पेश गरेका रिटमा सर्वोच्च प्रशासनले दरपीठ गरेपछि त्यसविरुद्ध छुट्टाछुट्टै निवेदन दिएका थिए। उनीहरूले दरपीठ निर्णयमाथि इजलासबाट सुनुवाइ हुनुपर्ने माग गरेका थिए।

यसअघि सर्वोच्च अदालतका रजिस्ट्रारले गत वैशाख २५ गते प्रधान न्यायाधीश सिफारिसविरुद्ध परेका तीन वटा रिट दरपीठ गर्ने प्रशासनिक आदेश दिएका थिए।

दरपीठविरुद्ध परेका निवेदनहरू सर्वोच्च प्रशासनले करिब एक सातासम्म रोक्का राखेको थियो। प्रधान न्यायाधीश नियुक्ति र शपथ प्रक्रिया सम्पन्न भएपछि मात्रै ती निवेदन दर्ता गरिएको थियो।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १९:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।