मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मङ्गलबार ल्याइने भएको छ । मङ्गलबार बस्ने प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी बैठक आह्वान गरिएको छ ।
मङ्गलबार साँझ ५ बजेट बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
उक्त बैठकमा सबै सांसदहरूलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १५ मिनेट अगाडी उपस्थित हुन निर्देशन गरिएको छ ।
संसद्मा पेस गर्ने गरी सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । प्रदेश सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मङ्गलबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा पेस गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएको हो ।
बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको बागमती प्रदेश सहरी नीतिलाई सरकारले स्वीकृत गरेको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको ‘जीवनाशक विषादी व्यवस्थापन’ सम्बन्धी विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले कृषि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३ को मस्यौदालाई मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरेको मन्त्री तामाङले बताए।
उक्त कार्यविधिले विभिन्न कृषि उद्योग तथा व्यवसायहरूलाई प्रवर्द्धन गर्न ऋण उपलब्ध गराउने र सो बापतको ब्याज अनुदान दिने व्यवस्था गरेको उनले बताए।
उनका अनुसार बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा तयार पारिएको प्रदेश जनसङ्ख्या नीति २०८३ लाई पनि अध्ययन र परिमार्जनका लागि समितिमा पठाउने निर्णय गरिएको छ।
खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले प्रदेशको विद्युत् विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्नका लागि स्वीकृति प्रदान गरेको उनले बताए।




















प्रतिक्रिया