नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउन्दै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले प्रधानमन्त्रीको ‘हामीले पनि भारतको जमिन मिचेका रहेछौँ’ भन्ने अभिव्यक्ति राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध रहेको बताएका हुन्। उनले प्रधानमन्त्रीले उक्त भनाइबारे तथ्यसहित स्पष्ट पार्नुपर्ने, आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने तथा सार्वजनिक रूपमा क्षमा माग्नुपर्ने माग गरे।
‘प्रधानमन्त्रीले भारतको जमिन मिचेका रहेछौँ भन्नु राष्ट्रियताको र भौगोलिक अखण्डताविरुद्ध छ। प्रधानमन्त्रीज्यू तुरुन्त तथ्यसहित प्रस्तुत हुनुपर्छ, आफ्ना कुरा फिर्ता लिनुपर्छ, सच्याउनुपर्छ र माफी माग्नुपर्छ,’ पुनले भने।
उनले प्रधानमन्त्रीको उक्त भनाई कुनै पनि प्रकारको राष्ट्रिय अभिलेखमा रहन नहुने भन्दै संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्ने बताए। ‘हामीले पनि भारतको जमिन मिचेका रहेछौँ भनेर बोल्नु असाध्यै गम्भीर विषय हो। त्यसलाई तुरुन्तै संसद्को रेकर्डबाट हटाइनुपर्छ,’ उनले जोड दिए।
पुनले भोलिसम्म उक्त अभिव्यक्ति रेकर्डबाट नहटाइए र प्रधानमन्त्रीले क्षमा नमागे प्रतिपक्षी दलहरूले सशक्त विरोध गर्ने चेतावनी समेत दिए। ‘सरकारको प्रतिक्रिया अनुसार हामी थप कदम चाल्नेछौँ,’ उनले भने।




















प्रतिक्रिया