काठमाडौं। सानिगाड हाइड्रोले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको थियो।
यसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
१ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता निष्कासन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गतेसम्म रहेको छ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस दिएको छ।
यसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।




















प्रतिक्रिया