Logo

समाचार

महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ



जाजरकोट । एक महिलामाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मोहन विक्रम शाही पक्राउ परेका छन्। शाही रास्वपाका कुशे गाउँपालिका सभापति हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनले गत जेठ १६ गते बिहान करिब ८ बजे कुशे गाउँपालिका–६ स्थित घरङ्गा स्वास्थ्य चौकीको भवनभित्र एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात तथा कुटपिट गरेका थिए।

घटनापछि पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिरकुमार खड्काले शाहीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद अनुमति लिएर शाहीलाई हिरासतमा राखिएको छ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक प्रमाण संकलन तथा थप अनुसन्धानको प्रक्रिया जारी रहेको जनाएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार १७:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।