Logo

प्रमुख समाचार

रत्नपार्कमा कुर्लिए प्रकाशमान, के-के भने ?



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाण्डुमा प्रर्दशन गरेको छ ।सरकारले सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न नागरिकलाई आह्वान गर्दै नेपाली कांग्रेसले सोमबार काठमाण्डुमा र्‍यालीसहितको विरोध प्रर्दशन गरेको हो ।

काठमाण्डुको रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको कांग्रेसको विरोध प्रर्दशन बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, शहीदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नारबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा ठूलो घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, द्वन्द्वकालीन मुद्दा लागेकाहरुलाई माफी दिनेलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै कांग्रेस नेताहरुले सरकारविरुद्ध आन्दोलनमा होमिन नागरिकलाई आह्वान गरेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै त्यसको विरोधमा उत्रन पनि नागरिकलाई अपिल गरे ।

कांग्रेस उपसभापति प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिए । उनले राणा शासन ढालेको, बहुदल ल्याउने तथा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व लिएको आफ्नो पार्टीलाई कमजोर ठान्ने गल्ती गरे नागरिकले वर्तमान सरकारलाई पनि ढालिदिने दावीसमेत गए । नेता सिंहले सरकारले कैलाली घटनाका आरोपी रेशम चौधरीलाई सांसदको सपथ गराएर विधिको शासनको धज्जी उडाएको आरोप पनि लगाए ।

कांग्रेसका अर्का नेता राजेन्द्रकुमार केसीले वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार गरेको पुष्टि भएको दावी गर्दै सरकारविरुद्ध आन्दोलनमा उत्रन नागरिकलाई आह्वान गरे । उनले सरकारले जनताविरोधी काम गरिरहेकाले त्यसको विरोधमा आफूहरुले प्रर्दशन गर्नु परेको पनि बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाण्डुको आह्वानमा आयोजना गरिएको सरकारविरोधी प्रर्दशनमा कम्युनिष्ट नेतृत्वको सरकारले देशमा शान्ति, सुरक्षासमेत दिन नसकेको भन्दै आक्रोश पनि व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  २ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।