नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापालाई इन्काउन्टरको आदेश कसले दिन्छ ? भनेर प्रश्न सोधेका छन् ।संसदको बुधबारको बैठकमा प्रश्न गर्दै कांग्रेसका मुख्य सचेतक खाँणले गृहमन्त्री थापालाई प्रहरीलाई दिइने इन्काउन्टरबारेमा प्रश्न सोधेका हुन् ।
गृहमन्त्री थापा संसदमा २०७५ साउन २१ गते भक्तपुरको सूर्यविनायकमा बालक निशान खड्काको हत्या गरेको अभियोगमा प्रहरीको इन्काउन्टरमा परेका गोपाल तमाङ र अजय तमाङको विषयमा जवाफ दिन उपस्थित थिए ।
कांग्रेस सांसद देवेन्द्रराज कँडेलले उक्त इन्काउन्टबारे प्रश्न उठाएका थिए । जवाफमा मन्त्री थापाले अपहरणमा संलग्नहरूले प्रहरीमाथि हतियार तेस्याएपछि इकाउन्टर गरिएको बताएका छन् ।गत साउन २० गते भक्तपुरको काँडाघारीमा बालक निशान खड्काको हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको थियो ।
‘गोपाल तामाङ र अजय तामाङको संलग्नतामा अपहरण गरी अन्दाजी राति साढे १२ बजे हत्या गरेर पुरेको अवस्थामा फेला पार्यो’, गृहमन्त्री थापाले भने, ‘पाइलटबाबा आश्रम नजिकै सामुदायिक जंगलमा उनीहरू भएको सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीलाई निजहरूले पेस्तोल निकाली आक्रमण गर्न लागेको र प्रहरी कारबाहीमा निजहरूको घटनास्थलमा मृत्यु भएको हो ।’
मन्त्रीको जवाफ पछि प्रश्नकर्ता कँडेलले प्रतिप्रश्न राखेका थिए । उनले कुन पेस्तोलले कति दूरीबाट आक्रमण भएको भन्ने प्रश्न सोधेका थिए ।‘अपराधीबाट फायर भएको छैन’, कँडेलले भने, ‘घुँडामुनि हान्न सकिन्थ्यो । नमारिएको भए अपहरणको कारण थाहा हुन्थ्यो ।’ जवाफमा गृहमन्त्री थापाले कुनै जवाफ दिएनन् । सभामुखले पटक–पटक जवाफ दिन थापालाई ताकेता गरेका थिए ।
‘मैले विषयलाई स्पष्ट गरिसकेको जस्तो लाग्छ’, थापाले भने, ‘स्पष्ट रूपमा जंगलमा यो इन्काउन्टर भएको थियो भन्ने रिपोर्ट प्राप्त छ । दूरी कति भन्ने जानकारी छैन । लक्ष्यको सीमाभित्रबाट प्रहार गरिएको बुझ्न जरूरी छ ।’
गृहमन्त्रीले इन्काउन्टर शब्द प्रयोग गरेलगत्तै खाँडले सोधे, ‘अपराधीलाई गिरफ्तार गरी कानूनी कारबाहीको क्रियाशील गर्नुपर्नेमा इकाउन्टर भैरहेको छ । इन्काउन्टको आदेश कसले दिन्छ ?’ जवाफमा मन्त्री थापाले इन्काउन्टरको अधिकार कानूनी रूपमै प्रहरीलाई भएको बताए ।
‘अपराधीको खोज गर्दै जाने क्रममा अपराधीले प्रहार गर्ने सम्भावना रहँदा आत्मरक्षाको निम्ति प्रहरीले प्रहार गर्न सक्छ’, थापाले भने, ‘कानूनी व्यवस्था छ । माथिबाट आदेश दिनुपर्छ भन्ने अवस्था छैन ।’
प्रतिक्रिया