Logo

प्रमुख समाचार

दोस्रो तहका नेताहरू चिन्तितहुनेगरि ओलीलाई प्रचण्डले किन दिए कडा जवाफ ?



भेनेजुएला प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको कुरा सार्वजनिक रुपमा बाझिएपछि दोेस्रो तहका नेताहरूले चिन्ता जनाएका छन् ।दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाको समर्थनमा जारी गरेको विज्ञप्तिलाई नेकपा र नेपाल सरकारले समर्थनमा एकै प्रकृतिको विज्ञप्ति जारी गरिसकेका छन् ।

विज्ञप्ति जारी भैसक्दा पनि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले भेनेजुएला प्रकरणमा प्रचण्डको टंग स्लिप भएको जनाएपछि विवाद बढेको हो ।नेकपाका नेता युवराज ज्ञवालीले पार्टीभित्रका विवादलाई आन्तरिक बैठकबाट सुल्झाउनुपर्ने बताएका छन् ।

‘भेनेजुएलाको विज्ञप्ति पार्टीले शुरुमा निकालेको थियो । त्यसलाई आधिकारिक मानेर केन्द्रीय सचिवालय र नेपाल सरकारले एउटै प्रकारको विज्ञप्ति जारी गरिसकेको छ’, उनले भने, ‘त्यो विषयमा विवाद गर्नु हुँदैन । दुबै अध्यक्षले बाहिर बोल्नु हुँदैन ।’

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले कुनै पनि विषयमा विवाद हुँदा पार्टीभित्र पहिला छलफल गरेर टुंगाउनुपर्ने बताए । उनले दुबै अध्यक्षलाई सार्वजनिक रुपमा टिकाटिप्पण नगर्न आग्रह गरेका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा एक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको वक्तव्यमा ‘स्लिप’ भएको बताएका थिए ।डाभोस सम्मेलनका लागि प्रधानमन्त्री स्विट्जरल्याण्डमा रहेका बेला दोस्रो तहका अध्यक्ष दाहालले भेनेजुएलामा अमेरिकी हस्तक्षेपप्रति रोष प्रकट गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नै आफ्नो समर्थन रहेको उल्लेख गरेका थिए ।

ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा आफू नेपालमै भएको भए भेनेजुएलाबारे सत्तारुढ दलकै अध्यक्षबाट त्यस्तो विज्ञप्ति नआउने जिकिर समेत गरेका छन् ।प्रधानमन्त्री ओलीले सोमबार अमेरिकी राजदूत -याण्डी बेरीसँगको भेटमा पनि अध्यक्ष दाहाल केही शब्दमा चिप्लिएको बताएका थिए ।

यता, प्रधानमन्त्री ओलीको जवाफमा अध्यक्ष प्रचण्डले चितवनबाट कडा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले त तपाईको वक्तव्य चिप्लिएको भन्नुभएछ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘नेकपाको सचिवालयले विज्ञप्ति निकालेको छ । पार्टीले विज्ञप्ति निकालेपछि व्यक्तिले दिएको प्रतिक्रियाको अर्थ रहँदैन ।’

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन समेत गरेका छन् ।

भेनेजुएला प्रकरणमा आफ्नो वक्तव्य राजनीतिक भएको र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाहिर कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्री ओली देशबाहिर रहेको बेला हतारमा अध्यक्ष प्रचण्डले विज्ञप्ति निकालेपछि कुटनितीक अपरिपक्वता भएको भन्दै आलोचना गरिएको थियो ।

लगत्तै सरकारका तर्फबाट पनि विज्ञप्ति जारी भएको थियो । नेकपा सचिवालयको बैठकले दुवै विज्ञप्ति सहि भएको निश्कर्ष निकालेको थियो ।

नेपालका लागि अमेरिकी राजदूतसँगको भेट लगत्तै प्रधानमन्त्री ओलीबाट आएको अभिव्यक्ति र अध्यक्ष प्रचण्डको काउण्टर जवाफले यतिवेला नेकपा भित्रको राजनीति तरंगित भएको छ ।प्रतिनिधिसभाका सांसदहरुले पनि मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ४ : ३८ बजे