काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोको उद्घाटन मंगलबार विशेष कार्यक्रमबीच गरिएको हो।
एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। आयोजकका अनुसार एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ।
पहिलो दिन ‘मोबिलिटी’ र नेपालको आर्थिक तथा यातायात क्षेत्रका विषयमा विशेष छलफलसमेत आयोजना गरिएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहको सहजीकरणमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष ऋतु सिंह वैद्य सहभागी थिए।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको नाइमाले जनाएको छ। दोस्रो संस्करणको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनीमा राखिएका छन्।
सवारीसाधन खरिदलाई सहज बनाउन एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले विभिन्न अफर तथा सहुलियतपूर्ण कर्जा योजनासमेत सार्वजनिक गरेका छन्।















प्रतिक्रिया