दुईतिहाइ बहुमतको इतिहासकै शक्तिशाली सरकारको शासनको पहिलो एक वर्ष पूरा हुँदै छ । यस अवसरमा सरकारले गरेका कामकारबाहीको लामो फेहरिस्त आउने र सम्भवतः प्रधानमन्त्रीज्यूबाट देशवासीका नाममा सन्देश नै पनि आउनेछ । सरकारले निकै राम्राराम्रा काम गरेको र मुलुकलाई दिनको एक कदमको हिसाबले समृद्धिको चुचुरोमै पु-याइसकेको वा पुग्न–पुग्न आँटेको, तर विपक्षी, विरोधीहरूले फेदीमै बसेर व्यर्थको विरोध गरिरहेको भन्ने आशयको अभिव्यक्ति पनि नआउला भन्ने छैन ।
तर, एक स्वतन्त्र नागरिकको रूपमा सरकारको बितेको एक वर्षका कामकारबाहीको समीक्षा गर्दा देखिने, महसुस हुने काम हुन सकेको छैन । मुलुकको अर्थतन्त्र सङ्कटबाट गुज्रिरहेको छ । वैदेशिक लगानी आकर्षित हुन सकेको छैन । आयातनिर्यात असन्तुलन र शोधनान्तर घाटा बढेको छ । राज्यका अङ्गहरूले स्वतन्त्रतापूर्वक काम गर्न नपाएको महसुस धेरैले गरेका छन् ।
कुरा धेरै भए पनि जनताले अनुभूति गर्ने खालको कुनै परिवर्तन आएको छैन । शान्तिसुरक्षाको स्थितिमा अपेक्षित सुधार आएको छैन । दलहरूबीचको सम्बन्धमा कटुता बढेको छ । अन्तर्राष्ट्रिय समुदाय सरकारका कामकारबाहीप्रति असन्तुष्ट देखिन थालेको छ । अझ ठूलो विडम्बना त सरकार हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद भुसको आगोजस्तै भित्रभित्र रहेकोमा हालै मात्र अध्यक्ष पुष्पकमल दाहालको असन्तुष्टि आक्रोशको रूपमा सार्वजनिक भएपछि त्यसले नयाँ परिस्थितिको सिर्जना भएको अनुमान गर्न थालिएको छ ।
अध्यक्ष दाहालले हालै ‘अर्को माओवादी जन्मन सक्ने’ भन्दै मूलतः सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । द्वन्द्वकालमा भएका घटनाको सत्य निरूपणका लागि गठन भएको आयोग र सोसम्बन्धी ऐनमा संशोधनका क्रममा केही विवादास्पद प्रावधान राख्न खोजिएको चर्चापछि अन्तर्राष्ट्रिय समुदायबाट त्यसप्रति चासो राखिएकामा त्यसलाई सरकारले नै पनि अनावश्यक चासो भनिरहेको थियो, यस्तो चासोबाट सशङ्कित दाहालले भेनेजुएला प्रकरणमा पार्टीको तर्फबाट विवादित वक्तव्य निकाले । सो विषयमा अमेरिकाले असन्तुष्टि व्यक्त गर्दै प्रश्न उठाएपछि सच्याउने क्रममा प्रधानमन्त्री ओलीले ‘शब्द चिप्लिएको’ र ‘व्यक्तिगत धारणा’ भनिदिएपछि दाहालमा असन्तुष्टि बढ्यो ।
त्यसो त प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेतसँग भेटेर अमेरिकी राजदूतले आफ्नो चासो राखे र भेटिएकाहरूले पनि आफूहरूको नियत वा आशय त्यस्तो नभएको र अमेरिकासँगको सम्बन्ध बिगार्न नचाहेको जानकारी पनि गराए, तर एकातिर प्रधानमन्त्रीले आफ्नो अनुपस्थितिमा वक्तव्य जारी हुनुलाई आफूमाथि बलमिचाइँ गर्न खोजेको महसुस गरेका हुन सक्छन् भने अर्कोतिर उनीमाथि कुनै दबाब पनि परेको हुन सक्छ ।
जे होस्, दाहालको आक्रोश यिनै सेरोफेरोमा आएको हो भन्नेमा कुनै द्विविधा छैन । एकातिर सार्वजनिक नियुक्तिहरूमा आफूलाई बेवास्ता गरिनु, एकपक्षीय ढङ्गमा गर्ने क्रम जारी रहनु र अर्कोतिर पार्टी एकताको प्रक्रियाप्रति गम्भीर नभई केवल सत्तामै अलमलिएका कारण पनि आफू र आफ्ना कार्यकर्ताको सुरक्षा र सबै किसिमको संरक्षणको सुनिश्चितता चाहेका दाहाल आक्रोशित हुनु अस्वाभाविक होइन ।
वास्तवमा जुन किसिमले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदै पार्टी एकता भएको थियो, त्यो दुनियाँलाई चकित पार्ने खालको नै थियो । व्यवहारले कम्युनिस्ट नरहे पनि नामबाट ‘कम्युनिस्ट’ नहटेको कारण दुवैले आफूलाई वामशक्तिको रूपमा प्रस्तुत गर्ने र दुःखी, गरिब र श्रमजीवीको पार्टी भन्ने भ्रम फैलाइरहेका छन् ।
विश्वले पनि सोही कारण यिनलाई कम्युनिस्ट मानिरहेको वा कम्युनिस्टकै रूपमा हेरिरहेको छ । अझ चीनसँगको सम्बन्धका कुराले यीप्रति अमेरिका, बेलायत तथा युरोपेली युनियन आबद्धलगायत मुलुकहरू नेपालले लिन खोजेको दिशाका विषयमा गम्भीर चासो राखिरहेका र गम्भीरतापूर्वक हेरिरहेका छन् । यस्तो अवस्थामा हामी, जसले असंलग्नताको सिद्धान्तलाई आफ्नो परराष्ट्रनीतिको मार्गदर्शक सिद्धान्त मान्दै आएका छौँ, कुनै पनि विषयमा आवेशमा आएर प्रतिक्रिया जनाउनुले त्यसको नकारात्मक असर पर्छ भन्ने नबुझ्नु हाम्रो कमजोरी हो ।
हामी स्वतन्त्र अवश्य छौँ । सार्वभौम पनि हौँ । तर, हाम्रो हैसियत, हाम्रो भूराजनीतिक अवस्था एवम् अन्य बाध्यताले पनि हामीलाई धेरै अगाडि बढेर, चर्केर वा कसैसँग नजिक वा कसैबाट टाढिएर समृद्धिको दिशा लिन सक्ने अवस्था पक्कै छैन । सन्तुलित सम्बन्ध नै हाम्रो समृद्धिको आधार हो । यस सन्दर्भमा कूटनीतिक विषयहरूमा अत्यन्त सजग हुनु आवश्यक छ भने आन्तरिक कलहका कारण उत्पन्न हुन सक्ने परिस्थितिका कारण पनि एकता नटुङ्गिएको र आत्मनिर्भरतातर्फको दिशा लिन नसकिरहेको वर्तमान अवस्थामा अलि संयम र गम्भीरता देखाउनु जरुरी छ ।
आन्तरिक विवादहरूको निप्टारा लगाउन नसक्ने नेताहरूले पछिल्लो समय सबैतिर षड्यन्त्रैषड्यन्त्र देख्न थालेका छन् । आन्तरिक कारणले गर्दा, कता जाने र कसो गर्नेको अलमलले गर्दा अघि बढ्न नसक्ने, निर्णय लिने र पछि हट्ने, अनि त्यसको दोषसमेत अरूमाथि थोपर्ने अनौठो चरित्र नेताहरूले देखाइरहेका छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल दुबैबीच यस विषयमा समानता छ ।
आफूभित्रका कमजोरी लुकाउन तिनले सबैतिर षड्यन्त्रैषड्यन्त्र देख्न थालेका छन् । अन्यत्र षड्यन्त्र देख्नुभन्दा आफूभित्रका अविश्वास र आशङ्का हटाउनु अहिलेको आवश्यकता हो । यस सन्दर्भमा पार्टीभित्रको आन्तरिक किचलोको समाधान गर्दै बाह्य जगत्लाई विश्वस्त पार्नेतर्फ सरकारको प्रयास आवश्यक छ । एक वर्ष त अलमलमै बित्यो, अबको वर्ष यसरी बिताउनुहुँदैन । नेकपा नेतृत्व यसप्रति गम्भीर हुनु आवश्यक छ विनोद नेपालको यो विचार घटना र विचारबाट लिएका हौ ।
प्रतिक्रिया