नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको एक वर्षको काम प्रभावकारी नभएको आरोप लगाएका छन् ।सरकारले एक वर्षको समय त्यत्तिकै खेर फालेको टिप्पणी गर्दै पौडेलले सरकारले समयको सदुपयोग गर्न नसकेको बताए । उनले भने, “हिजो लाखको र करोडको भ्रष्टाचार सुनिन्थ्यो, आज अरबौका भ्रष्टाचारका कुरा बाहिर आएका छन् । त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।”
नेपाल राष्ट्रिय मगर सङ्घ केन्द्रीय समितिको आयोजनामा आजदेखि दमौलीमा शुरु गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले ल्याएको रोजगार कार्यक्रम कार्यकर्ता पोस्ने काम मात्रै भएको टिप्पणी गरे ।
रोजगारको विकल्प नभइकन रोजगार दिन्छु भन्नु कार्यकर्तालाई पैसा बाँड्ने काम भएको वरिष्ठ नेता पौडेलको भनाइ थियो । काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिँदै वरिष्ठ नेता पौडेलले काङ्ग्रेसभित्रै शुद्धीकरणको आवश्यकता रहेको बताए ।
सिद्धान्तको राजनीतिले मात्रै मुलुकलाई समृद्ध बनाउने बताउँदै पाैडेलले मुलुकमा अहिले सिद्धान्तको राजनीति आवश्यक भएको चर्चा गरे।वरिष्ठ नेता पौडेलले प्रजातान्त्रिक समाजवादको आदर्शले मात्रै सबै जातजाति, भाषा, धर्म र क्षेत्रलाई समान अवसर दिने बताए ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले समृद्ध र विकासका लागि काङ्ग्रेसको सरकार आवश्यक रहेको बताउँदै मत प्रतिशत बढाउने गरी सङ्गठन अगाडि बढाउनुपर्नेमा जोड दिए ।केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले सबै जातजातिको हकहित संरक्षणका लागि पार्टी प्रतिबद्ध रहेको बताए । केन्द्रीय सदस्य धनराज गुरुङले सरकारको सदाचारको बाटो बिराएको बताए ।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशलाई समृद्धिको दिशामा अगाडि बढाउने अभियानमा काङ्ग्रेस लाग्नुपर्नेमा जोड दिए ।केन्द्रीय सदस्य प्रदीप पौडेलले जिम्मेवार ढङ्गबाट सरकार अगाडि बढोस् भन्ने काङ्ग्रेसको शुभकामना रहेको बताए । आइतबारसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि सहभागी रहेको नेपाल राष्ट्रिय मगर सङ्घका केन्द्रीय सभापति ओम घर्तीमगरले जानकारी दिए ।
प्रतिक्रिया