Logo

अर्थ

प्रभु बैंकद्धारा विपद्बाट प्रभावित परिवारहरुका लागी पहेंलो गुम्बालाई बंक बेड हस्तान्तरण



काठमाडौं ।  प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुईतल्ले खाट (बंक बेड) उपलब्ध गराएको छ।

प्राकृतिक विपद् तथा बाढीका कारण गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले उक्त सहयोग गरेको जनाएको छ।

राहत तथा आश्रयस्थलमा बसिरहेका परिवारका लागि बंक बेड आवश्यक रहेको पहिचान भएपछि सहयोग गरिएको बैंकको भनाइ छ।

यसअघि पनि बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित र घरबारविहीन परिवारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो।

बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ पनि सोही कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

बैंकले नुवाकोटको जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्यागसमेत उपलब्ध गराएको थियो।

त्यस्तै, विपद्का कारण घाइते भएकाहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

प्रभु बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।

बैंकले विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार १९:००   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।