Logo

अर्थ

दुई महिनामा ११ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागकाअनुसार साउन र भदौमा ३२८ वटा उद्योग तथा परियोजनाका लागि लगानी प्रतिबद्धता आएको हो । तीमध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट र ६ वटा स्वीकृति मार्गबाट स्वीकृत भएका छन्।

भदौमा मात्रै १३६ परियोजनाका लागि ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ प्रतिबद्धता आएको छ भने साउनमा १९२ परियोजनामार्फत ४ अर्ब ७७ करोड २८ लाख रुपैयाँ आएको थियो।

क्षेत्रगत रूपमा पर्यटनमा सबैभन्दा धेरै ३ अर्ब ७४ करोड २८ लाख रुपैयाँ प्रतिबद्धता आएको छ। उद्योग संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्र अगाडि छ, जहाँ २१२ परियोजना दर्ता भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा ३३ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएकोमा चालु वर्षको प्रतिबद्धता ११ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ।

प्रस्तावित उद्योग सञ्चालनमा आए ३ हजार ४४७ जनाले रोजगारी पाउने विभागको अनुमान छ।

विभागले ८५ जना विदेशी लगानीकर्ता, ६२ जना प्रतिनिधि र ८६ जना आश्रित सदस्यका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ। नेपालबाट रोयल्टी तथा सेवा शुल्कबापत विभिन्न विदेशी मुद्रासहित करोडौँ रुपैयाँ लाभांश फिर्ताका लागि विभागले स्वीकृति प्रदान गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १५:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।