Logo

शेयर बजार

नेप्सेले गर्यो २ सय २ कम्पनीको वर्गिकरण, समुह ए मा २ कम्पनी मात्र पुगे



नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गरेको सूचीकृत कम्पनीहरूको वर्गीकरणमा दुई कम्पनी मात्रै समूह “ए“ मा परेका छन् । वाणिज्य बैंक समूहमा सूचीकृत ग्लोबल आएमई बैंक र नेपाल ईन्भेष्टमेन्ट बैंक समुह ए मा परेका छन् ।

नेप्सेले यसअघि गरेको वर्गीकरणमा कुनैपनि कम्पनी समूह ए मा परेका थिएनन् । तर नेप्सेले सूचीकृत कम्पनीलाई समूह “ए“ मा पार्नुपर्ने दाबी भए त्यस अनुरूप कागजपत्र सहित दाबी गर्न भनेको थियो ।

नेप्सेको सोही निर्देशनपछि भएको अद्यावधिक रहेका दुई कम्पनी समूह “ए“ मा परेका हुन् ।अरू सबै कम्पनी “जी“ र “जेड“मा परेका छन् । अद्यावधिकमा समेत कुनैपनि कम्पनी समूह “बि “मा परेका छैनन् ।

नेप्सेले दुईसय २ कम्पनीको वर्गीकरण गरेको हो । जसमा समूह “ए“मा दुई, समूह “जी“ मा २८ र समूह “जेड“मा १ सय ७२ कम्पनी परेका छन् ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ११(९) बमोजिम सूचीकृत कम्पनीको वर्गीकरण गरेको हो। नेप्सेले कम्तीमा चुक्ता पूँजी एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण भएको कम्तीमा तीन वर्ष भएको, बिगत तीन आर्थिक बर्ष लगातार नाफामा रही लाभांश बितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त भएको, नियमनकारी निकायले तोकेको ढाँचामा बित्तीय बिबरण राखेको र आर्थिक

बर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीलाई नेप्सेले समूह ए मा राख्ने गरेको छ । यसैगरी समूह बि का लागि नेप्सेले चुक्ता पूजीको हकमा ५० करोड र संचित नोक्सनी नरहेको हुनुपर्ने मापदण्ड तोकेको छ।

ए र बी मा जेसूकै लेखिएको भएपनि जी वर्गमा पर्न धितोपत्र सूचीकरण भएको कम्तिमा दुई वर्ष पुग्नु पर्छ भने तीनै समूहमा नपरेका कम्पनी जेड समूहमा पर्छन् ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  २ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।