केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तलैबाट चुनिएर आउनुपर्ने कि नपर्ने तथा समानुपातिक सांसद दोस्रो कार्यकाल दोहोरिन पाउने कि नपाउने भन्ने विवाद तत्कालका लागि थाती राखेर विधानको गाँठो फुकाउन कांग्रेसमा मध्यमार्गी प्रस्ताव आएको छ । दुई विषयमा लामो समयदेखि चलेको बहस विवादका रूपमा गहिरिँदै गएपछि विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले मध्यमार्गी प्रस्ताव ल्याएका हुन् ।
आइतबार विधानलाई अन्तिम रूप दिने गरी शनिबार सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा भएको छलफलमा पनि तर्क बाझिएपछि समिति संयोजक खड्काले विवादित विषय थाती राखेर भए पनि विधान पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
‘विधानजस्तो विषयलाई बहुमत र अल्पमतमा नपारौँ । सहमतिबाटै टुंग्याएर जानुपर्छ,’ खड्काले भने, ‘अहिले उठेका विषयमा कुरा मिल्दैन भने प्रतिनिधि चुनिएर आउने तथा समानुपातिक सांसद दोहोरिने वा नदोहोरिने विषय थाती राख्दै अरू विषयमा सहमति गरेर विधानलाई टुंग्याऊँ ।’
खड्काको प्रस्तावमा नेता रामचन्द्र पौडेलले भने असहमति जनाएका छन् । विधानजस्तो विषयमा कुनै कुरा थाती राखेर जान नहुने उनको तर्क थियो । सहमहामन्त्री कृष्णप्रसाद सिटौलाले विधानलाई लामो समय रोक्न नहुने बताए । ‘महासमिति बैठक भएको दुई महिना भए पनि विधान पारित गर्न ढिलाइ भइरहेको छ । तुरुन्त पास गरेर पठाउनुपर्छ । पदाधिकारीहरूले सबैलाई समेटेर जाने दायित्व हो,’ सिटौलाले भने, ‘सभापति र नेताले केन्द्रका नेता तलबाटै आउनुपर्छ भन्नुभएको छ । आफैँले बोलेपछि अब यसलाई किन उल्ट्याउने ? विधान ढिलाइ गर्दा संघीय संरचनाअनुसार संगठन निर्माणमा ढिलाइ हुन्छ र भोलि पार्टीलाई नै क्षति हुन्छ ।’
सभापति देउवाले बोलाएको छलफलमा नेता पौडेल, सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी थिए ।
शनिबारको छलफल टुंगोमा नपुगेपछि आइतबार बिहान पुनः छलफल गर्ने गरी नेताहरूले बैठक टुंग्याएका थिए । केन्द्रीय समिति बैठक आइतबार बिहान ११ बजेका लागि डाकिएको छ ।
मैले साथीहरूलाई मनाउन सकिनँ : शेरबहादुर देउवा, सभापति
केन्द्रीय नेताहरू तलबाटै निर्वाचित भएर आउने विषयमा मैले सबै साथीलाई मनाउन सकिरहेको छैन । साथीहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्छ भन्नेमा दायाँबायाँ छैनन् । यसमा मैले पनि थप छलफल गर्नुपर्नेछ । सहमतिबाटै अघि बढ्न म पनि तयार छु ।
विषय थाती राखेर जान सकिन्न : रामचन्द्र पौडेल, नेता
महासमिति बैठकमा मैले पनि केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तलबाटै निर्वाचित भएर आउनुपर्ने बोलिसकेँ । कसरी पछाडि हट्ने ? विधानजस्तो विषयलाई सर्वसम्मतिबाट टुंग्याएर जानुपर्छ । अहिले नमिलेका विषयलाई थाती राखेर जाने भन्ने हुँदैन ।
प्रतिक्रिया