Logo

विचार / ब्लग

कलाकारले ‘बालुवा’लाई हलुवा कसरी भन्न सक्छन् ? : रमेश पौडेललाई खुला जवाफ



युवा सङ्घका अध्यक्ष रमेश पौडेलका दुई–चार वटा अन्तर्वार्ता युट्यूबमा हेरेँ । उनको कुरा सुन्दा भर्खरको केटौलो राजनीतिक उत्तेजना र अपरिपक्व चेत पाएँ । कसरी हुन्छ आफ्ना नेताहरूको पक्षपोषणमै उनले आफुलाई बढी केन्द्रीत गरेको पाइयो । एउटा वफादार, नेताले जे भन्यो त्यही मान्ने, ‘यस म्यान’वाला कार्यकर्तामा हुनुपर्ने गुण उनमा पक्कै देखिन्छ, तर विद्रोही, जुझारु र सङ्घर्षशील चेत भएको युवाको लक्षण चाहिँ यो हैन ।

अतः पहिलो कुरा रमेशजीबाट हामीले भावी नेतृत्वको आश कसरी गर्ने भन्ने प्रश्न केही दिनयताका उनका अभिव्यक्तिबाट स्पष्ट पैदा भइसकेको छ । हुन त, घनश्याम भुषालदेखि योगेश भट्टराइसम्म लाचार भइरहेको अहिलेको समयमा रमेशजी त भर्खरका उदाउँदा नेता हुन् । यहाँ उनका केही तर्कहरूको ‘बचकाना’पन हेरौँ,

१) रमेशले भनेका छन्, ‘पशुपति शर्माले हामी कार्यकर्तालाई कुकुर भनिदिने ? त्यो हामी सहन्छौँ ?’

गीतमा ‘कार्यकर्ता’ भनिएको छ । कार्यकर्ता शब्दले कुनै निश्चित जात, धर्म, या भाषिक समुदाय जनाउँदैन । हो, पशुपतिजीले कुनै निश्चित समुदायलाई यसरी भनेको भए त्यो आपत्तिजनक हुन्थ्यो ।

कार्यकर्ता भन्ने शब्दले ‘राजनीतिक कार्यकर्ता’ भनेर मात्र पनि ठयाक्कै जनाउँदैन । सामाजिक सङ्घ–सँस्थामा पनि कार्यकर्ता हुन्छन् । जस्तै, सामाजिक कार्यकर्ता, स्वास्थ्य कार्यकर्ता आदि । कार्य गर्ने कर्ता जो छ, उही कार्यकर्ता हो । कार्यकर्ता ‘मास’ जनाउने शब्द पनि हो ।

जनता, नेता, कर्मचारी या पत्रकार भनेजस्तै कार्यकर्ता पनि बहुवचन जनाउने शब्द हो । कार्यकर्ता यो देशमा विभिन्न राजनीतिक दलमा आवद्ध छन् । ती सारा कार्यकर्ताको ठेक्का युवा सङ्घले लिनुको कुनै तुक छ ? मानौँ, यो देशमा अरु कुनै दल छैनन् र भएभरका कार्यकर्ता नेकपाका मात्र हुन् भन्ने हिसाबले तर्क गर्न मिल्दैन ।

२) कम्युनिष्टको झण्डा नै देखाइएको आधारमा आपत्ति जनाउने हो भने पनि यो देशमा रमेश पौडेल आवद्ध कम्युनिष्ट पार्टी मात्र छ त ? दर्जनौँ कम्युनिष्ट छन्, तिनले पनि हँसिया हथौडा प्रयोग गर्छन् र तिनका पनि कार्यकर्ता छन् । सारा कम्युनिष्टको ठेक्का उनले किन लिनुपरेको होला ?

३) पशुपति शर्माले ‘नेगेटिक भाइभ’ जगाउने गीत गाए, समृद्धितिर मुलुक जुटिरहेको बेला उनले ‘पोजिटभ भाइभ’ जगाउने गीत गाउनुपर्थ्यो भन्ने रमेशको तर्क रहेछ । यो पनि अर्को फाल्तु तर्क हो । पहिलो कुरा, कसले कस्तो भाव बोकेको गीत गाउनुपर्छ भनेर ‘डिक्टेट’ गर्ने उनी को हुन् ? कलाकारले उनले चाहेजस्तो गीत गाइदिनुपर्ने ? कलाकारको आफ्नो विवेक, सोच, समझ, सौन्दर्यचेत र प्रतिभा हुँदैन भन्ने उनलाई लागेको हो कि ?

सकारात्मक र नकारात्मक पक्ष पनि निरपेक्ष हुँदैन । रमेशजीहरू बाइड बडी विमान खरिदमा भएको अर्बौंको घोटालालाई पनि सकारात्मक देख्छन् होला । उनी ‘मुलुक समृद्धितिर गइरहेको छ’ भनिरहेका छन्, त्यो समृद्धि खै त ? भ्रष्टाचारमा लिप्त सरकारका मन्त्रीहरूले मुलुकलाई समृद्धितिर लैजालान् ? निर्मला पन्तलाई न्याय दिलाउन नसक्ने हुतीहाराहरूले मुलुकलाई समृद्धितिर लैजाँदैछन् भनेर हामीले मानिदिनुपर्ने ?

हो, ती मन्त्रीहरू सबै रमेशका नजरमा सकारात्मक पात्र हुन सक्लान् । किनकि, रमेशजी पार्टी अनुशासनमा बाँधिएका छन् अनि राजनीतिमा सफलता प्राप्त गर्ने स्वाभाविक मोहका कारण उनी आफ्नो पार्टीको सरकारका गलत क्रियाकलापप्रति बोल्न या कटाक्ष गर्न सक्दैनन् । आजको राजनीतिक सँस्कारले युवालाई त्यस्तो जुझारुपन सिकाएकै छैन भने रमेशबाट हामीले त्यसको अपेक्षा नगर्दा हुन्छ ।

सुडानदेखि फोरजी हुँदै मेलाम्चीसम्मको घोटालालाई कलाकारले चाहिँ कसरी सकारात्मक देख्न सक्छ ? नकारात्मक कुरा नगर्ने भन्ने नाममा उनीहरू ‘बालुवा’लाई हलुवा कसरी भन्न सक्छन् ?

रमेशजी र उनको दलले देशमा सकारात्मक परिस्थिति बनाउन सकेकै छैन । यथार्थ गाउने कलाकारले कसरी त्यसलाई सकारात्मक देख्ने त ? अनि पोजेटिभ भाइव गायक पशुपति शर्माले तयार गरिदिनुपर्ने हो कि शासन–सत्तामा भएकाहरूको सकारात्मक कर्मले त्यो अवस्था बनाउने हो ? देशको मियो भनेको राजनीति नै हैन र ?

राजनीतिको नारायणी धमिलिएको देख्दादेख्दै कलाकारले त्यसलाई पवित्र जल मानिदिनुपर्ने ? आफुहरू नालायक हुने, सारा नकारात्मक काम गर्ने, अनि कलाकारले चाहिँ शासकहरूको नकारात्मक हर्कतहरूलाई पनि सकारात्मक गीतमा उनीदिनुपर्ने ? के कलाकारलाई स्तुतीगायक बनाउन खोजेको ? कलाकारलाई यो आदेश कुनै माइकालालले दिन सक्दैन ।

४) कुकुर र यमराजसँग दाँजिएको विषयमा पनि आपत्ति रहेछ । यो अर्को फजुल तर्क हो । पहिलो त ‘कुकुरजस्तै भुक्छन्’ भनिएको छ, कुकुर नै भनिएको हैन । उदाहरणका लागि ‘अन्जु पन्त कोइलीजस्तै गाउँछीन्’ भन्नुको अर्थ उनलाई कोइली नै भनेको त हैन नि, उनको स्वर पो कोइलीजस्तो भनिएको हो । ‘जुनजस्तै राम्री’ भन्नुको अर्थ प्रेमिकालाई चन्द्रमा नै भनेको त हैन नि ।

चन्द्रमा नै भनेको अर्थ लगाउने हो भने प्रेमिकालाई मार्नुपर्ने हुन्छ, किनकि चन्द्रमा त निर्जीव हो । अतः ‘कुकुरजस्तै भुक्छन्’ भन्नुको अर्थ कुकुर भनेको हैन, कुकुरको ‘भुकाइ’सँग मात्र यो शब्दको तादात्म्य रहेको देखिन्छ ।

यमराज भनेका धर्मशास्त्रवर्णित एक राजा हुन् । पञ्चायतकालमा पनि ‘यमदूत’ भन्ने प्रहसन प्रशारण गरिएको थियो । यति विम्ब र प्रतीक, लक्षणा अनि व्यञ्जना बुझ्न नसक्नेहरू समृद्धि र समाजवादको दुहाइ दिन्छन् । अब झन स्पष्ट भएको छ, कि रमेशजी र उनको पार्टीबाट यो देशमा केही लछारपाटो लाग्नेवाला छैन ।

आफ्ना असफलताहरूप्रति जनताको आक्रोशसँग निकै डर लागेको हो भने राम्रो काम गरुँ न । आफ्ना गलत कतुर््तहरू जगजाहेर हुँदा आफैलाई पोल्छ भने गलत कर्तुत बन्द गरेर असल काम गर्ने हो । र, युवाहरूले नेतालाई खबरदारी गर्ने हो, गायकलाई फतवा जारी गरेको भाषामा धाक धम्की दिने हैन ।

(सञ्चारकर्मी भट्टराईको फेसबुकबाट)

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ४ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।