Logo

अन्तर्राष्ट्रिय

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १६ जनाको मृत्यु



काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

भूकम्पका कारण सयौँ घरमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस ९एपी० र भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसले जनाएका छन्।

भूकम्पका कारण कम्तीमा ३३९ घर र २० वटा पशु गोठ भत्किएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएस का अनुसार भूकम्पको केन्द्र नाग्चुबाट करिब १९१ किलोमिटर पूर्व–उत्तरपूर्वमा रहेको थियो।

उद्धार तथा राहत कार्यलाई तीव्रता दिन प्रभावित क्षेत्रमा स्थानीयस्तरबाट १ हजार ६ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। भूकम्पपीडितका लागि १ हजार अस्थायी आवास एकाइ र करिब ३ हजार टेन्ट पठाइएको छ। त्यस्तै, प्रभावितलाई आवश्यक पर्ने खाट, टर्च र न्यानो कपडासमेत उपलब्ध गराइएको छ।

भूकम्पका कारण केही क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ। पहिरो जाने र ढुंगा खस्ने समस्या देखिएपछि राष्ट्रिय राजमार्ग ३१७ को एक खण्डमा आपत्कालीन तथा उद्धारमा खटिएका सवारीसाधनबाहेक अन्य सवारीको आवागमन रोकिएको छ।

मौसम पूर्वानुमानअनुसार प्रभावित क्षेत्रमा आगामी तीन दिनसम्म छिटपुट हिमपात हुन सक्ने सम्भावना छ। हिमपात र प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य थप कठिन बन्न सक्ने अनुमान गरिएको छ।

भूकम्पपछि तिब्बत क्षेत्रीय प्रशासनले दोस्रो तहको आपत्कालीन प्रतिक्रिया प्रणाली सक्रिय पारेको छ। चीनको राष्ट्रिय भूकम्प उद्धारसम्बन्धी निकाय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले पनि राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन समन्वय गरिरहेका छन्।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार पछिल्लो पाँच वर्षमा उक्त क्षेत्रमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो। प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार ०८:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।