काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा ९एमाले०ले दुःख व्यक्त गरेको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन्।
निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यताविपरीत रहेको एमालेले जनाएको छ। विश्व शान्तिको पक्षमा सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीले यस्ता अमानवीय घटनाको निन्दा गरेको छ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र हित सुनिश्चित गर्न एमालेले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। विदेशमा काम गरिरहेका नेपालीको जीवनरक्षा र सुरक्षाका विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्ने पार्टीको जोड छ।




















प्रतिक्रिया