नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ। तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यतासँगै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत पाएपछि प्रतियोगिताको चर्चा थप चुलिएको छ।
एनपीएल चर्चामा रहनुको कारण प्रतियोगिताले पाएको मान्यता मात्रै होइन, यसमा सहभागी खेलाडीको प्रदर्शन र प्रतियोगिताप्रतिको दर्शकको आकर्षण पनि हो। यतिखेर यस्तै चर्चाको केन्द्रमा छन् १६ वर्षीय राहुल यादव।
रौतहटको चन्द्रनिगाहपुरका राहुलले १६ वर्षकै उमेरमा एनपीएल खेल्ने अवसर पाए र पहिलो खेलमै आफ्नो क्षमता प्रमाणित गरे। जनकपुर बोल्ट्सका आइकोनिक खेलाडी राहुल केही दिनअघि मात्रै ‘ट्यालेन्ट हन्ट’ मार्फत छनोट भएका थिए। मंगलबार जनकपुरको पहिलो खेलमै उनले मैदानमा उत्रने अवसर पाए।
एनपीएलमा प्रत्येक फ्रेन्चाइज टोलीले स्थानीयस्तरमा उत्कृष्ट प्रदर्शन गरेका एक खेलाडीलाई आइकोनिक खेलाडीका रूपमा राख्ने व्यवस्था छ। तर, टोलीमा छनोट भए पनि सबैले खेल्ने मौका पाउँदैनन्। राहुलले भने जनकपुरको पहिलो खेलमै अवसर पाए।
उनको सपना थियो—एनपीएलमा डेब्यु गर्ने। मंगलबार त्यो सपना पूरा भयो। गत संस्करणमा खराब लयमा रहेको जनकपुरले यसपटक पहिलो खेलमै राहुललाई मैदानमा उतार्यो। उनी मैदान प्रवेश गर्दा धेरै समर्थकका लागि यो अप्रत्याशित थियो।
तर, राहुलले पाएको अवसरको सदुपयोग मात्रै गरेनन्, पहिलो खेलमै सबैको ध्यान आफूतिर ताने। एनपीएलमा पहिलो खेल, पहिलो ओभर र पहिलो बलमै विकेट लिएपछि उनी चर्चामा आए।
टस जितेर जनकपुरका कप्तान हरमित सिंहले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका थिए। हरमितले पावरप्लेमै राहुललाई बलिङको जिम्मेवारी दिए। राहुलले कप्तानको विश्वासलाई सही साबित गर्दै आक्रामक ब्याटिङ गरिरहेका दीपक डुम्रेलाई पहिलो बलमै आउट गरे।
तेस्रो ओभरमा बलिङ गर्न आएका राहुलले अघिल्लो ओभरमा दुई छक्का प्रहार गरेका डुम्रेलाई पभेलियन फर्काएपछि जनकपुरका समर्थक उत्साहित बने। प्यारापिटमा जनकपुरका झन्डा फहरिन थाले।
डुम्रे आउट भएपछि पाकिस्तानी अनुभवी अलराउन्डर हुसेन तलात ब्याटिङमा आए। पहिलो बलमै विकेट लिएका राहुलले आफ्नो ओभरको पाँचौँ बल डट राखे भने अन्तिम बलमा एक रन दिए।
त्यसपछि पावरप्लेको अन्तिम ओभरमा पनि राहुललाई बलिङ गर्न लगाइयो। ओभरका सुरुआती दुई बल डट राखेका उनले तेस्रो बलमा दबाबमा रहेका तलातलाई अनिलकुमार साहबाट क्याच आउट गराए।
पावरप्लेमा दुई ओभर बलिङ गरेका राहुलले दुई रन खर्चेर दुई महत्वपूर्ण विकेट लिए। उनले खेलमा कुल चार ओभर बलिङ गर्दै १५ रन खर्चेर दुई विकेट हात पारे। उत्कृष्ट प्रदर्शनका लागि उनी ‘इनर्जेटिक मोमेन्ट अफ द म्याच’ घोषित भए र २५ हजार रुपैयाँ पुरस्कार पाए।
राहुलको प्रदर्शनले क्रिकेटप्रेमीलाई उत्साहित बनाएको छ। उनको गृहक्षेत्र रौतहटको चन्द्रनिगाहपुर र बेतौनामा पनि खुसीयाली छाएको छ। खेलप्रेमी पत्रकार दीपु मिश्रका अनुसार राहुलले बेतौनाको खेलमैदानबाट क्रिकेट खेल्न सुरु गरेका हुन्। सानै उमेरमा उनले जिल्लाको नाम चिनाएको मिश्र बताउँछन्।
त्यस्तै, मंगलबार त्रिवि क्रिकेट मैदानमै पुगेर खेल हेरेका खेलप्रेमी दीपककुमार झाले पनि राहुलको प्रदर्शनको प्रशंसा गरे। राहुलमा क्षमता रहेको र भविष्यमा अवसर पाए नेपाली क्रिकेटमा थप योगदान दिन सक्ने उनको विश्वास छ।
राहुलको प्रदर्शनबाट जनकपुरका कप्तान हरमित सिंह पनि प्रभावित भए। खेलपछि पत्रकारसँग कुरा गर्दै हरमितले राहुलको खुलेर प्रशंसा गरे।
‘राहुलको खेल एकदमै राम्रो छ। नेपाली क्रिकेटको आगामी ठूलो स्टार बन्न सक्छन्। उनले आफ्नो पहिलो खेलमै क्षमता देखाएका छन् र उनीसँग राम्रो सीप छ, शुभकामना दिन चाहन्छु,’ हरमितले भने।
राहुलले व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको टोली जनकपुर भने कर्णाली याक्ससँग १९ रनले पराजित भयो।
पत्रकार मिश्रका अनुसार राहुलको सपना नेपाली राष्ट्रिय टोलीको जर्सी लगाएर क्रिकेट खेल्नु हो। ‘यही लयमा रहने हो भने उनको सपना चाँडै पूरा हुने विश्वास गर्न सकिन्छ,’ मिश्र भन्छन्।




















प्रतिक्रिया