Logo

प्रमुख समाचार

शोककै बीचमा उम्मेदवारको चर्चा : वामदेव नलड्ने, विद्या निश्चित



लोकप्रिय नेता रवीन्द्र अधिकारीको दुःखद निधन भएको साता बित्दानबित्दै उनी विजयी बनेको निर्वाचन क्षेत्र (कास्की–२) मा सम्भावित उम्मेदवारका बारेमा अनेक चर्चा शुरु भएका छन् ।

अधिकारीको अन्त्येष्टिसँगै वरिष्ठ नेता वामदेव गौतमको नाम त्यस क्षेत्रबाट उम्मेदवार बन्ने व्यक्तिका रूपमा चर्चामा आएको थियो । पार्टी विभाजन हुँदा रवीन्द्र वामदेवतिर लागेको र त्यसपछिका दिनमा पनि उनलाई वामदेवकै मानिसका रूपमा चिन्ने गरिएको र, वामदेव स्वयम् संसदमा प्रवेश गर्न आतुर रहेकोले मानिसहरूको ध्यान वामदेवतिर तानिएको देखिन्छ ।

यस सम्बन्धमा अलिक बढी नै चर्चा–परिचर्चा शुरु भएपछि वामदेव गौतमले एक सार्वजनिक विज्ञप्ति नै जारी गरेर ‘आफू कास्कीबाट उम्मेदवार बन्ने स्थितिमा नरहेको, बरु रवीन्द्रकै परिवारका सदस्यलाई उम्मेदवार बनाउन प्रयास गर्ने’ स्पष्ट गरेका छन् । कास्कीको स्थिति र वामदेवको भनाइबाट उनी रिक्त स्थानबाट चुनावमा खडा हुने छैनन् भन्ने स्पष्ट भएको छ ।

कास्की क्षेत्र नंं. २ लाई रवीन्द्रले सधैँ आफ्नो काबुमा रहने गरी नक्साङ्कन गर्न लगाएकोले त्यहाँ प्रतिनिधिसभा सदस्यमा दाबी गर्ने हैसियत पुगेका व्यक्तिहरू नेकपाभित्र नरहेको ठानिन्छ । त्यसैले रवीन्द्रपत्नी विद्या अधिकारीलाई नै नेकपाले आगामी निर्वाचनमा उम्मेदवार बनाउने सम्भावना छ ।

गत निर्वाचन (२०७४ मङ्सिर) मा नेपाली काङ्ग्रेसका युवा नेता देवराज चालिसेले रवीन्द्रसँग प्रतिस्पर्धा गरेका थिए । अब हुने उपनिर्वाचनमा पनि काङ्ग्रेसले चालिसेलाई पुनः अघि सार्ने सम्भावना छ । उक्त क्षेत्रमा काङ्ग्रेसका अर्का नेता शोभियतबहादुर अधिकारी पनि प्रतिनिधिसभा सदस्यका दाबेदार हुन् । तर, देवराजले इच्छा दर्शाएमा उनी नै प्रतिस्पर्धामा उत्रने निश्चित छ ।

यतिबेला रवीन्द्र अधिकारीको परिवारप्रति आममानिसको सहानुभूति व्यापक भएकोले विपक्षी दलका नेताहरूमा एकप्रकारको सतर्कता देखिएको छ । अलिक ढिला उपनिर्वाचन भएको अवस्थामा सहानुभूतिको मत कम पर्ने सम्भावना भएकोले निर्वाचन ढिला भइदिए हुन्थ्यो भन्ने कामना विपक्षी दलका स्थानीय नेताहरूले गरिरहेको बुझिन्छ ।

रवीन्द्रपत्नी विद्यालाई उम्मेदवार बनाउन वामदेव गौतम सक्रिय हुने भएकोले विद्याबाहेक अरू कसैलाई नेकपाले खडा गर्ने हो कि भन्ने आशङ्का पनि नभएको होइन, तर त्यस क्षेत्रमा विद्याले जति मत ल्याउन सक्ने नेकपाको अर्को कुनै व्यक्ति नदेखिएकोले अन्ततः देवराज चालिसे र विद्या अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ । यद्यपि निर्वाचन भने आगामी वैशाखयता सम्पन्न हुन सक्ने ठानिएको छैन । घटना र विचारमा समाचार छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार  २ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।