नेकपाको सांसद हृदयेश त्रिपाठीले संसदमा उठेका विषयमा सरकारले कुनै चासो नदेखाएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । संसदमा सांसदहरूले दर्ता गराएका सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरू त्यत्तिकै थन्किएकोप्रति उनले आपत्ती जनाए ।
संसदको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै सांसद त्रिपाठीले संसदमा विषय उठान हुने तर सरकारले कुनै सुनुवाई नगर्ने गरेकोमा आफ्नै सरकार भएपनि दुःखी बन्नु परेका बताए ।
प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा बोल्दै उनले संसदप्रति सरकार उत्तरदायी नबन्ने हो भने संसद शक्तिशालि छ भन्ने सन्देश सरकारलाई दिनुपर्ने सुझाएका हुन् । सभामुख कृष्णबहादुर महरामार्फत उनले संसदमा उठेका विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
आफूले संकल्प प्रस्ताव दर्ता गराएको भए पनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको उनले दाबी गरे । उनले भने ‘दु:ख लागिरहेको छ, आफ्नै सरकारलाई बिचरा भन्न परिरहेको छ ।’ यस्तै, उनले रेशम चौधरीलाई न्यायालयले न्याय नगरेको टिप्पणी गरे ।
‘हाम्रा अदालतले फैसला गर्छन्, न्याय गर्दैनन् भनेर एक जना पूर्व प्रधानन्यायाधीशले मात्रै भन्नुभएको थियो,’ उनले भने, ‘मलाई त्यो कुरा सही लाग्यो। फैसला मात्रै हुने रहेछ । न्याय नहुने रहेछ ।’
साथै, लामो समय बन्द रहेर सञ्चालनमा आएका चिनी मिल पनि बन्द हुने सूचना सार्वजनिक भएको भन्दै सांसद त्रिपाठीले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले बन्द हुने सूचना प्रकाशित गरेका चिनिमिलमाथि अबिलम्व हस्तक्षेप गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका हुन् ।
डेढ महिनापछि सञ्चालन भएका चिनी मिलहरू पुनः बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उनले ती मिलहरूमाथि हस्तपक्षेप गरी सञ्चालनको व्यवस्था मिलाउन नसके हजारौं किसानहरू उखु जलाउन बाध्य हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले उखु किसानका लागि सरकारले घोषणा अनुदानको पैसा किसानको हातमा नपुगेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए। राजधानीबाट ।



















प्रतिक्रिया