Logo

प्रमुख समाचार

सरकार र सिके राउतबीचको सहमतिले कतै राष्ट्र टुक्रयाउने कुरालाई वैधता त प्रदान गर्दैन ? : भीम रावल



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमतिले कतै राष्ट्र टुक्रयाउने कुरालाई वैधता त प्रदान गर्दैन? भन्दै प्रश्न गरेका छन्।सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट आज (शनिबार) राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले सो कुरा बताएका हुन्।

उनले भने,‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन। सरकारले त्यस्तो प्रयास गर्नुपर्छ। तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन।’

साक्षात्कारमा बोल्दै उनले भने,‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थें । तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन। उहाँले यसअघि राष्ट्रविरूद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन् र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्धेश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्धेश्य स्पष्ट नदेखिएको आरोप लगाए।

उनले भने,‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो। तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक इञ्च पनि भूमि टुक्रयाउन पाइँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने,‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ। यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ।’

हिजो भएको सहमति नेपालको संविधानविपरीत र पार्टीको विधानविपरीत भएको उनको टिप्पणी छ। आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानको प्रतिरक्षा गरेको पनि उनले स्पष्ट पारे।

उनले भने,‘मधेश टुक्र्याउँछु भन्नेहरूसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त ? म प्रश्न गर्न चाहन्छु।’

रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे।उनले भने,‘सरकारले यसको जवाफ दिनुपर्छ। सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं। अहिले फेरि यो कुराले प्रवेश किन पायो?’

राउतले हिजोको सहमति कार्यक्रममा बडो कलात्मक रूपमा आफ्नो सम्बोधन गरेको पनि सुनाए।हिजोको सहमतिले कतै राष्ट्र टुक्रयाउने कुरालाई वैधता त प्रदान गर्दैन भन्दै उनले प्रश्न गरे। उनले भने,‘कतिपय कुराको परिणाम तत्काल आउँदैन। ५, १० र २० वर्षपछि परिणाम आउँछन्।’

उनले यत्रो सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोखे।उनले भने,‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन ? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरूमार्फत् आफ्नो मत प्रेषित गरेको थिएँ। हाम्रै पार्टीका साथीहरूले पनि भाषाहरू परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो। तर, सच्याइएन। पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ। एक/दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो ?’

सहमति गर्नुअघि किन यो कुरा बाहिर पारदर्शी रूपमा नआएको भन्दै रावलले प्रश्न गरे।उनले भने,‘सुनियोजित र अन्य कुरा छैन भने बैठकमा कुरा राख्न किन गाह्रो भयो ?’ रावलले उक्त सहमतिबारे पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने माग गरे।

उनले थपे,‘यस विषयमा बहस हुनुपर्छ। यस्तो संवेदनशील विषय आउँदा बैठक बोलाउनुपर्देन ? यसले भोलि सिंगो राष्ट्र र पार्टीलाई क्षति हुन्छ। र, भोलि देश र जनता नै प्रताडित हुने अवस्था आउँछ।’

उनले आफूले हिजोको ‘सहमति कार्यक्रम’ प्रत्यक्ष प्रशारणमा हेरेको सुनाउँदै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गरे।

उनले भने,‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो। देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो।’

रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे।उनले भने,‘मलाई त गज्जब लाग्यो, राउतलाई दार्शनिक भनियो, उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो? म प्रश्न गर्न चाहन्छु।’

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।