Logo

राजनीति

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल तातोपानी कुण्डमा डुबे



नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गरेका छन् । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आएको अवसरमा उहाँहरु प्रसिद्ध तातोपानी कुण्ड पुगेका हुन् ।

हेलिकप्टरमार्फत म्याग्दी पुगेका नेताद्वय देउवा र पौडेल स्थानीय नेता तथा कार्यकर्तासहित तातोपानी कुण्डमा पुग्नुभएको थियो । कुण्डमा उहाँहरुले कांग्रेस म्याग्दीका जिल्लास्तरका नेताहरुसँगै स्नान गरे । कांग्रेस सभापति देउवा एकैछिन मात्रै तातोपानी कुण्डमा डुबेर निस्के भने वरिष्ठ नेता पौडेल भने केहीबेर कुण्डमा डबे । कुण्डमा स्नान गरेर निस्कने क्रममा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले तातोपानी कुण्डमा डुब्दा आफूलाई आनन्दको महशुस भएको बताए । उनले तातोपानी कुण्डको प्रचारप्रसार गर्नुपर्ने भन्दै कुण्डको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

यसैगरी वरिष्ठ नेता पौडेलले तातोपानी कुण्डमा डुब्दा आफूलाई स्वर्गको अनुभूति भएको बताउँदै आफूले आनन्दको महशुस गरेको प्रतिक्रिया दिए । उनले नेपालको विभिन्न स्थानमा तातोपानीका कुण्ड र मुहानहरु रहेको हुँदा धार्मिक रुपले पनि तातोपानीको महिमा रहेको बताउँदै यसले मानिसलाई पवित्रता कायम गर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले समृद्ध नेपाल निर्माणका लागि खनिज पदार्थको उत्खनन्, कृषिको क्रान्ति र पर्यटनको विकास समृद्धिको आधार भएको बताए ।

प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार  ३ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।