Logo

बागमती प्रदेश

काठमाडौंमा कोठा भाडा सस्तो हुन थाल्यो, घरबेटी मान्छे खोज्दै हिँड्न थाले



कोठामा बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने काठमाण्डौमा अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ ।

कोरोना सङ्क्रमणका कारण ४ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन् । कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन् भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका छन् । 

यहीँ भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाण्डौको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टल देखि अधिकांश व्यवसाय गर्ने व्यवसायीले व्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।

कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभए पनि अधिकांश घरमा कोठा खाली छन् । काठमाण्डौ अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यका भरी नै एकनासको समस्या रहेको बताउनुहुन्छ । अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यका भरी नै सटर र फ्ल्याटहरु ठूलो संख्यामा खाली भएको उहाँको भनाइ छ । 

‘कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो, ‘अब लक डाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बेला भयो, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै लड्दै अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ ।’

अहिले काठमाण्डौका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ । पछिल्ला वर्षहरुमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरु पीडित बनिरहेका थिए । कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए त कहिले घरबेटी नै अनावश्यक रुपमा भाडा असुल्दै आएका थिए ।

तर अहिले अवस्था फेरिएको छ । डेरावालहरुले छानीछानी सस्तोमा कोठा लिन पाउँछन् । भाडामा बस्नेहरुको संख्या घट्दै गएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ । कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको छ ।

 

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ५ : ३८ बजे