२ नम्बर प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीमा सुकेको ईनारमा खसेका एक सर्वसाधारणको सोमबार जिवितै उद्दार गरिएको छ । हरिवन नगरपालिका-५ का ५५ वर्षिय सानुमान जिम्बालाई नेपाली सेनाको टोलीले उनलाई सकुशल निकालेको हो ।
गत वैशाख १२ गतेदेखि हराईरहेका जिम्बालाई सोमबार बिहान ३० फिट गहिरो पानी सुकेको ईनारमा स्थानिय बालकले देखेका थिए । स्थानिय १३ वर्षिय बालक बिवस पाख्रीनले ईनारमा जिम्बालाई देखेपछि ‘भुत भुत’ भन्दै गाउँतिर भागेपछि गाउँलेले घटनाबारे थाहा पाएका हुन् ।
देख्ने वितिकै स्थानियले प्रहरीलाई खबर गरेर ईनारमा फ्रुटी, पानी लगायत तल झारेको र जिम्बाले २ लिटर पानी सहित फ्रुटी तत्कालै खाएको स्थानिय समाजसेवी सुरेन्द्र लामाले बताए । ५ दिनदेखि ईनार भित्रै रहेकाले जिम्बाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको हरिवन(५ का वडा अध्यक्ष नागेन्द्र साहले बताए ।
वडाअध्यक्ष साहले जिम्बालाई उपचारका लागि तत्काल नमुना अस्पताल पठाएका छन् । उनका श्रीमतीसहित परिवारका सदस्यहरु भने खोज्दै बाहिर आफन्तकोमा पुगेका थिए ।





















प्रतिक्रिया