कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले जे पर्छ बेहोर्छु भनेर पाउडर दूधको आयात रोकेको दाबी गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी)को स्वर्ण महोत्सवमा बोल्दै मन्त्री खनालले उद्योगी, व्यापारी, उपभोक्ताको हितमा यस्तो काम गरेको बताएका हुन् ।
खनालले भने, “बरू झोल दूध आयात गरिन्छ, धुलो दूध आयात खोलिन्न ।” उनले नेपालको माग धान्न ३० प्रतिशत खसीबोका अपुग रहेको बताउँदै स्वास्थका हिसाबले पनि उपयुक्त नभएकाले अवस्थ खसीबोका नेपाल ल्याउन नदिइने प्रतिवद्धता व्यक्त गरे ।
खनालले भने, “कसैलाई पनि मारमा पारिन्न तर उपभोक्तालाई धोका दिन सकिन्न । यस्तो अवस्थामा डीडीसी नाफामा गएर कसैलाइ मारमा पार्ने योजना छैन ।” उनका अनुसार दूधको क्षेत्रमा ५० वर्षको अनुभव भएको डीडीसीलाई अझै राम्रो बनाउन सकिन्छ । डीडीसीलाई उकास्न अझैपनि राम्रोसँग सोचेर कमजोरी केलाउनु पर्ने उनले बताए ।
खनालले भने, “डीडीसीको उत्पादन गुणस्तरीय पनि होस् र सस्तो पनि । किनकी चर्को प्रतिस्पर्धामा त्यति भए सबैसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।” प्रतिस्पर्धामा जाने संस्था घाटामा नजाने बताउँदै खनालले प्रतिस्पर्धा गर्न नसक्ने संस्था बन्द गर्न आग्रह गरे । डीडीसी सरकारी संस्था भएकोले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय पनि हुनुपर्नेमा उनले जोड दिए ।
उनले भने, “ब्रान्ड र प्याकेजिङ गर्दा त्यतातिर ध्यान दिनुहोला ।” सो अवसरमा कर्मचारी युनियनले विदेशी पाउडरमा रोक लगाएर स्वदेशी दूधलाई डम्पिङ हुनबाट रोकेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए ।




















प्रतिक्रिया