Logo

टिप्पणी

सभामुख चयनको हलो कस्ले अड्कायो ?



कृष्णवहादुर महराले राजीनामा दिएपछि सभामुख पदका वारेमा अनेक कोणवाट वहस शुरु भएको थियो । ति वहस मध्ये एउटा बिषयले खास चर्चा पाएको थियो । त्यो वहस थियो, ‘अव सभामुख प्रमुख प्रतिपक्षको हुनुपर्छ ।’ यो वहस बिशेषगरि, स्वतन्त्र बौद्धिक तहवाट गरिएको थियो । पछि कांग्रेसले पनि यसलाई थोरै सतहमा ल्यायो । किनकी प्रमुख प्रतिपक्षमा कांग्रेस छ । कांग्रेसको भन्दा बौद्धिक तहको स्वर बढि घन्किन थाल्यो ।

उता, कांग्रेसले सभामुख पाउने कुनै आसा राखेन । कहिलेकांही प्रबक्ता विश्वप्रकाश शर्मा यो बिषयमा बोल्ने वाहेक कांग्रेस यसमा पुरै रोकियो । अर्कोतिर, सत्तारुढ नेकपाले सभामुख पद कांग्रेसलाई दिने संभावना पनि थिएन । किनकी त्यो राजनीति महानता नेकपाले यस अघि कहिल्यै देखाएको थिएन । यहि गतिमा सत्तारुढ दल नेकपाले उपसभामुखलाई राजीनामा गर्न लगाएर सभामुख पद जसरी पनि लिने गृहकार्य गरिरह्यो ।

असोज १४ मा महराले राजीनामा दिएपछि रिक्त रहेको सभामुख पद अहिले सत्तारुढ दलका लागि ’आकाश खसे’ जस्तो भारी भइसकेको छ । यहि सभामुख पदले पार्टीभित्रै ठुलो फुट ल्याइदिएको छ । प्रधानमन्त्री रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको घनिष्ठता पातलिंदै जान थालेको छ । विभिन्न चर्चा परिचर्चाले पार्टीभित्र अनेक वहस सृजना गरिदिएको छ ।

खासमा, सभामुख चयनको हलो कस्ले अड्कायो ? यो प्रश्न सत्तारुढ दल भित्र पेचिलो वन्दै गएको छ । पुस ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आह््वान गरेपछि सभामुख वारे १-२ दिनमै निर्णय गर्ने सत्तारुढ नेकपाले बताएको थियो । संसद अधिवेशन यहि बिषयलाई ध्यानमा राखेर केहि दिन स्थगन भयो । सत्तापक्ष मात्र होइन, विपक्षी दलदेखि सर्वसाधारण नागरिकसम्मले केहि दिनमै सभामुखको टुँगो लाग्ने विश्वास गरेका थिए । तर, सबैको विश्वासलाई घात गरेर सत्तारुढ नेकपा आफ्नो राजनीति स्वार्थमा अल्झिएको छ । खासगरि, अध्यक्षद्धय ओली र दाहालको चाहना भित्र घुसेर राष्ट्रपति भण्डारीले पनि अर्को चाहना राखेपछि सभामुख चयनको प्रक्रिया पुरै जटिल वनेको जानकारहरुको दावी छ ।

संबैधानिक हिसाबले राष्ट्रपति भण्डारीले राजनीति सक्रियता त के संकेत गर्ने अधिकार पनि छैन । तर, सभामुख चयनमा उनको सक्रियता रहेको बिषय संचारमाध्यमहरुमा आएका छन् । यसले सत्तारुढ दलप्रति आम जनताको विश्वास टुट्न सक्ने संभावना बढाएको छ । यो प्रक्रियामा कहिंकतैवाट राष्ट्रपति मुछिन हुँदैनथ्यो । तर, उनि मुछिएका खवरले ब्यापकता पाइसकेको छ । अव सभामुख चयनलाई अध्यक्षद्धयले कसरी हल गर्छन्, त्यो झन अन्योल बन्दै गएको छ ।

बुधवार साँझसम्म सत्तारुढ दल भित्र सभामुखको बिषयमा सौहार्द छलफल हुन सकेको छैन । झन दुई अध्यक्ष विच नै तिक्तता बढ्न थालेको संकेत देखिएको छ । अहिले सत्तारुढ दलकै कार्यकर्ताहरु प्रश्न गर्न थालेका छन् । आखिर, ‘सभामुख चयनको हलो कस्ले अड्कायो ?’

प्रकाशित मिति : १ माघ २०७६, बुधबार १८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।