अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौताबारे अध्ययन गर्न बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलले प्रतिवेदन बुझाएको तीन हप्ता बिते पनि सत्ताधारी दलले ठोस निष्कर्ष दिन सकेको छैन ।
राष्ट्रियता र नेपालको कानुन प्रतिकूल भएका बुँदाहरु संशोधन गरी नेपालको हीतअनुकूल बनाएरमात्र एमसीसी स्वीकार गर्नुपर्ने कार्यदलको सुझाव दराजमा थन्किएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अध्ययन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा गठित अध्ययन कार्यदलले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको हातमै गत फागुन ९ गते प्रतिवेदन थमायो ।
कार्यदलको प्रतिवेदनमा सम्झौतामा मूल सम्झौता अनुमोदन नहुँदै अर्थ मन्त्रालयले पूरक सम्झौता गरेर बजेट निकासा गर्नु, एमसीसीलाई ‘इन्डो प्यासिफिक’ रणनीतिअन्तगर्तकै अंग मानिनु, एमसीसीमा नेपालले डेढ सय मिलियन अनुदान दिनुपर्ने प्रावधान रहनु र लेखापरीक्षण गर्दा न्यूयोर्क स्टेटको कानुनअनुसार हुने भनेर राखिएको प्रावधानहरुमाथि प्रश्न गर्दै संशोधनको सुझाव दिइएको छ ।
प्रतिवेदन बुझाएको तीन हप्ता बित्दासमेत नेकपा नेतृत्व अनिर्णीत बन्दा कतै कार्यदल औपचारिकताका लागि बनाइएको त थिएन भन्ने प्रश्न बलशाली बन्दै गएको छ । कार्यदल संयोजक झलनाथ खनाल भने प्रतिवेदनबारे पार्टीमा छलफल चलिरहेको औपचारिक प्रतिक्रियामा सीमित भएका छन् ।
यसले कार्यदलले आफ्नो प्रतिवेदनलाई निकास दिन पार्टी नेतृत्वलाई दबाब दिइरहेको छैन भन्ने देखाउँछ भने पार्टी नेतृत्व पनि यति महत्वपूर्ण परियोजनाबारे निष्कर्षमा पुग्नुको साटो कानमा तेल हालेर बसेजस्तो गरिरहेको छ ।
अमेरिकी नियोगले भने एमसीसी नेपालको संसदबाट अनुमोदन हुनेमा सार्वजनिकरुपमै विश्वस्त देखिएको छ । तर, नेकपा अनिर्णीत हुँदा आफ्नो क्षेत्राधिकारमा आएको एमसीसीलाई निकास दिन संसदसमेत अनिर्णीत अवस्थामा रहेको छ ।
















प्रतिक्रिया