Logo

विचार / ब्लग

कोरोना भाइरस (कोभिड–१९) बिरूद्दको लडाई



कोरोना भाइरसकाे पृष्टभूमि

विश्व, कोरोना भाइरस (कोभिड–१९) भाइरसको आतंकले आक्रान्त भएको अवस्था छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाललाई चीनमा नियन्त्रणमा आइसकेको भए पनि अहिले इटाली, स्पेन, संयुक्त राज्य अमेरिका लगायत देशहरु अहिले यसको चरम चपेटामा छन । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को ठूलो असर भने अहिले सम्म नेपालमा परेको छैन । यो हाम्रो लागि सुखद पक्ष हो ।

बिश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार यो भाइरसबाट अहिले विश्वभर २०४ भन्दा बढी देशमा १२ लाख २० हजार भन्दा धेरै व्यक्ति संक्रमित भईसकेका छन् भने झन्डै ६४ हजार ७ सय भन्दा बढी व्यक्तिले ज्यान गुमाई सकेकाछन । नेपालमा ९ जना कोरोना भाइरस संक्रमिक पुष्टि भएका छन, ८ जना भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्ति हुन भने १ जनामा स्थानीय संक्रमण देखिएको छ । उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य भएको कुरा नेपाल सम्बन्ध सरोकारवालाहरुले जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ । भौगोलिक हिसाबले सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । यहाँ हालसम्म ९९ जना मानिसको ज्यान गइसकेको छ । यहाँका ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ । भारतपछि कोरोनाको दोस्रो प्रभावित मुलुक बनेको छ, पाकिस्तान । यहाँका २ हजार ८ सय १८ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा ४१ मानिसको ज्यान गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएपछि पाकिस्तानले सतर्कताका विभिन्न उपायहरू बढाएको छ । कोरोनाले बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

१ जना स्थानीयमा संक्रमण देखिए संगै नेपाल सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् । उनीहरुलाई आ-आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’ यो कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो ।

अहिलेकाे आवस्यकता

अहिलेको अवस्थामा हाम्रो पहिलो प्राथमिकता भनेको रोगलाई देश, क्षेत्र र समुदायका बस्तीमा छिर्न नै नदिनु हो । छिरेको खण्डमा दोश्रो प्रयास कन्ट्याक ट्रेसिङ्गको माध्यमबाट यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ । यसले महामारीको रुप लिनुभन्दा पहिले नै सामाजिक दुरी, आइसोलेशन, क्वारेन्टाइनको माध्यम समेत अपनाउन सकिन्छ । यहाँ निर अलिकता कन्ट्याक ट्रेसिङ्गको बारेमा हामीलाई थाहा हुनु जरुरी छ, कुनैपनि गम्भीर प्रवृत्तिका रोग महामारीको रुप लिने सामथ्र्य राख्दछ भने त्यसले सो रोगको उत्पत्ति र त्यसको सम्भाव्य असरप्रति पहिले नै जानकारी लिनुपर्छ । यसका साथै यो रोग कहाँबाट कसरी फैलियो जान्नु समेत जरुरी हुन्छ । संक्रमित व्यक्तिको संक्रमण स्रोत पहिचान गरेर सो व्यक्तिको सम्पर्क तथा व्यवहारलाई पूरा रुपमा अध्ययन गरेर थप सम्भाव्य संक्रमितलाई छिटो भन्दा छिटो पहिचान गरेर उपचार गर्दै अन्य क्षेत्रमा थप संक्रमण फैलिन नदिने प्रक्रिया नै कन्ट्याक ट्रेसिङ्ग हो । प्रारम्भिक परिवेशमा गहन खोज गर्न सकिएको खण्डमा यो नै महामारी रोक्ने सबैभन्दा बलियो उपाय हो । तर, यो प्रक्रिया जटिल हुनुका साथै आर्थिक तथा मानव स्रोतको रुपमा अत्यन्तै खर्चिलो हुन्छ ।

जसरी संक्रमित व्यक्तिको संख्या थपिँदै जान्छ यो प्रक्रिया जटिल बन्नुको साथै असम्भव प्रायः बन्दै जान्छ । पहिलो बिरामीको पहिचान भएलगत्तै सो व्यक्तिको सम्पर्क कोसँग भयो ? सो व्यक्तिको यात्रा कहाँ–कहाँ भयो अनि ती स्थानमा रोग सर्ने सम्भावना रहेको समयमा अरु को–को पुगे भनेर पहिल्याउने काम गरेर ती सम्भावित संक्रमितलाई संक्रमण फैल्याउने स्थितिमा पुग्नु अगाडि नै रोक्न सक्नुपर्छ । समय बित्दैजाँदा यी दोस्रो तहका संक्रमित व्यक्तिहरुको समेत यही प्रक्रियाले पहिचान गर्नुपर्ने हुन्छ । समय गुज्रिँदै जाँदा यो प्रक्रिया असम्भव र महामारी रोक्न औचित्यहीन बन्न पुग्छ ।

किनकी त्यतिबेलासम्म महामारीले जरा गाडिसकेको हुन्छ । कोरोनाको संक्रमण भएको खण्डमा भने उपचार गर्ने वा निवारण गर्ने उपाय नभएको हुँदा आइसोलेसन क्वारेन्टाइन वा गम्भीर परिवेशमा अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । जब त्यो उपायले समेत काम गर्दैन, त्यसपछि आइसोलेसन, क्वारेन्टाइनका साथ–साथै उपचारका विभिन्न उपायहरु समेत अवलम्बन गर्नुपर्ने हुन्छ । साथसाथै स्वास्थ्य चेतना फैलाउने, सुरक्षित व्यवहार गर्ने, स्वास्थ्यकर्मीहरुको संख्या बढाउने, स्वास्थ्य सेवाको क्षमता तथा तालिम बढाउने, परिक्षणलाई जति सक्यो त्यति धेरै ठाउँमा बिस्तार गर्ने र नयाँ-नयाँ उपचार पद्दति तथा वैज्ञानिक अनुसन्धानहरु तत्काल् लागू गर्न हरपल सजग रहने कार्य गर्नुपनि उत्तिकै जरुरी हुन् आउछ ।

सरकारको भूमिका

अहिलेको समय हाम्रो लागि अत्यन्त सम्बेदनशील घडी भएकोले पनि नेपाल सरकारले यसमा पूर्ण रुपमा केन्द्रित हुनु अति-आवश्यक छ । यो अबस्थामा देशको धेरै भन्दा धेरै बजेट कोरोना बिरुद्दको लडाईमा लगाउन जरुरी छ । संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई अत्यन्त महत्वका साथ प्राथमिकतामा राखी कोरोना भाईरस बिरुद्ध सशक्त, आक्रामक र प्रभावकारी कार्यन्वयनमा जानुपर्छ । साथै सरकारले चालेका सकारात्मक कदमको समर्थन र बिश्व स्वस्थ संगठन (WHO) ले दिएका सुझाबहरु पालना गर्न जरुरी छ । नेपालको वर्तमान संरचना अनुसार तिन तहका सरकार छन् जसमा महत्वपूर्ण एवं अभिभावकत्वको जिम्मेवारी बोकेको संघीय सरकारको भूमिका पक्कै पनि सवैभन्दा बढी हुन्छ ।

संघीय सरकारले उपयुक्त समयमा सहि निर्णय गर्न सक्नु पनि एउटा महत्वपूर्ण जिम्मेवारी हो । अहिलेको यस आपतकालीन परिस्थितिमा संघीय सकारले धेरै राम्रो कामहरु गरेर प्रशंसा पनि पाएको छ भने कोरोना बिरुद्धको लडाइको लागि अतिआबश्यक सामग्रीहरुमा समयमा काम गर्न नसकेको कारण उत्तिकै आलोचित पनि हुनुपरेको छ ।

तिनवटै सरकार संगको समन्वयमा प्रयाप्त बजेट, स्वास्थ्य सेवा केन्द्रहरुका लागि अतिआबश्यक उपकरण तथा स्वास्थ्य कर्मीहरु, सुरक्षाकर्मी तथा अन्य प्रभावितहरुको लागि खटनपटनमा खटिने जोखिममा हुने व्यक्तिहरुको लागि व्यक्तिगत सुरक्षा सामाग्रीहरु, प्रयाप्त दैनिक उपभोग्य बस्तुहरुको जोहो, लकडाउन सँगसँगै भारत लगायत अन्य देशहरुबाट हाम्रो देशमा प्रवेश गर्ने नाकामा नै क्वारेन्टाइमा राख्ने व्यवस्थाका साथै सो स्थानमा कोरोना परिक्षण गर्ने व्यवस्था मिलाउने, दुस्खमा परेका दैनिक ज्याला मजदुरी गर्ने तथा लकडाउनका कारण अप्ठ्यारोमा परेका नागरिकका लागि उचित व्यवस्था मिलाउने लगायतका कार्यमा सरकारले विषेश ध्यान दिनु जरुरी छ । त्यसै गरि संघीय सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न लागिपर्नुका साथै आफूले पनि प्रदेश सरकारको तर्फबाट सम्वन्धित प्रदेशका लागि स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर आवश्य निर्णयहरु लिने, महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेशस्तरीय कार्ययोजना बनाउन, आवश्यक निर्देशिका बनाउन र एउटै साझा उद्देश्य लिएर अगाडी बढ्न जरुरी हुन्छ ।

प्रदेशका मुख्य-मुख्य नाकाहरुमा क्वारेन्टाइनको व्यवस्था, परीक्षणको व्यवस्था, प्रदेशका सबै सरोकारवालाहरु, विभिन्न मन्त्रालयहरु, विभिन्न संघसंस्थाहरु, संचार जगत, जनप्रतिनिधिका बीचमा असल समन्वय, रोकथामका लागि जिल्लास्तरीय विभिन्न सचेतनामूलक क्रियाकलापहरु गर्ने, सबै नागरिकको उपचार पाउने अधिकारको सुनिश्चतता, विपद व्यवस्थापन कार्यदल लगायत विभिन्न कार्यदलको परिचालन लगायतका कार्यहरुमा प्रदेश सकारको भूमिका रहन्छ । त्यसै गरि जनतालाई प्रत्यक्ष अनुभूति हुने गरि सेवा दिने कार्यार्थ परिकल्पना गरि स्थापना भएको स्थानीय सरकारले पनि आ-आफ्नो ठाउँबाट जनतालाई प्रत्यक्ष रुपमा लाभ तथा राहत हुने खालका गतिबिधिहरु गर्नुपर्ने भूमिका अहिलेको अवस्था हो । कोरोना भाइरसको बिरुद्धको लडाईमा महामारी रोकथाम तथा नियन्त्रणमा बिभिन्न जनचेतनामूलक क्रियाक्लापहरु गर्ने, महामारी फैलिन नदिनका लागि क्वारेन्टाइनको प्रभाकारी ब्यबस्थापन तथा अनुगमन गर्ने कार्य महत्वपूर्ण हुन जान्छ ।

सरकारलाई सुझाव

– वर्तमान अबस्थामा बिपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने हरुको लागि राहत वितरण गर्न अल्मलिएको स्थानीय सरकारले तुरुन्तै वडा अध्यक्षको अगुवाइमा कार्यदल बनाएर सशक्त रुपमा परिचालन गर्न जरुरी छ ।

– भारत तथा अन्य मुलुकहरुको अवस्था, हाम्रो देशको क्षमता संगै अहिले सम्मका सबै जोखिम समुहहरुको नमुनाहरुको नतिजा हेरेर लक्डाउन समय बढाउनु आबस्यक छ ।

– सरकारले बिपन्न बर्गलाई तुरुन्त न्युनतम १ महिनाको राहत प्रदान गरोस र अन्य व्यवसायीहरुलाई राहत महसुस हुनेखालका प्याकेजहरु ल्याउनु जरुरी छ ।

– बिभिन्न सिमामा अलपत्र परेका नागरिकहरु तथा देश भित्र एक ठाउँबाट अर्को ठाउँ जाने नागरिकहरुको उचित साबधानी अपनाएर उनीहरुको समस्या समाधान गर्नु पर्दछ उनीहरुलाई २ हप्ता ‘क्वारेन्टाइन’ को शर्त र अनुगमनमा पठाउनु उपयुक्त हुन्छ ।

– कोरोना भाईरस परिक्षण दयारा बढाउने तथा समुदायमा ब्यापक परीक्षण गरेर आइसोलेसन गर्न जरुरी छ । अब रत्तिभर हेलचक्र्याइँको अर्थ हुनेछ, जसको परिणाम भयावह हुन सक्छ । समयको गम्भीरता अनुरूप सरकारले गति बढाओस् ।

– खुल्ला सिमानाका कारण भारतसंग हामीले लकडाउनलाई समानान्तर रुपमा लैजानु पर्दछ । यसमा हामी अधैर्य र अपरिपक्व हुनुहुँदैन ।

– हामीसंग अस्पतालमा साधनस्रोत, दक्ष जनशक्ति र लाइफ सपोर्ट प्रणाली प्रयाप्त छैन । समयमै आबश्यक जोहोमा ध्यान दिनु जरुरी छ साथै व्यक्तिगत सुरक्षाका सामाग्रीहरु लगायत गुणस्तरीय उपकरणको आपूर्ति गर्न जरुरी छ ।

– आवश्यक परेमा सबै निजि अस्पताललाई सरकारीकरण गर्ने ग्रहकार्य समयमै गर्न जरुरी छ ।

आम नागरिकको जिम्मेवारी

कोरोना भाइरसले हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ केहि हद सम्म परिसकेको छ । त्यसैले कोरोनाको रोकथाम र यसले पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै निकायहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ । संकटको यस्तो घडीमा केही व्यक्ति तथा संस्थाहरु भने असामाजिक र गैरजिम्मेवार कार्यहरु गर्दैछन । बिभिन्न मिडिया तथा सामाजिक सञ्जालमा कोरोना भाईरस सम्बन्धी विभिन्न अफवाह तथा भ्रामक हल्लाहरु फैलाउने समय होइन ।

अपुष्ट समाचारहरु फैलाएर मानिसलाई आतंकित गर्ने समय पनि होइन । यो कालोबजारी गर्ने, सामानको स्टक लुकाउने वा थुपारेर राख्ने समय पनि होइन । चीनमा कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले लकडाउनलाई आफ्नो सामाजिक उत्तरदायित्वका रुपमा लिँदै त्यसलाई निर्ममतापूर्वक पालना गरे भने इटालीका कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले गैरजिम्मेवार हुँदै पर्याप्त सावधानी अपनाउनतिर लागेनन् । त्यसैले चीनमा यो नियन्त्रणमा आयो भने इटाली यसको चरम चपेटामा पर्‍यो । त्यसैले यो संकटको घडीमा हामीले जिम्मेवारपूर्ण सामाजिक व्यवहार देखाउने कि नदेखाउने भन्ने कुराले नै हाम्रो भावी दिशा र दशा दर्साउने निश्चित छ ।

हामीलाई थाहा छ, हाम्रो राज्यको क्षमता । हाम्रा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार तथा साधन स्रोतहरु सबै सीमित छन् । विकसित देशहरुले त कोरोना भाइरस विरुद्ध लड्न सकिरहेका छैनन् भने हाम्रोमा यो भाइरस फैलियो भने यति सीमित स्रोत साधनले केही पनि गर्न सक्ने छैनौँ । तर पनि सामाजिक एकता र सामाजिक दायित्व वोधमा यस्तो शक्ति हुन्छ, जसले ठूलो संकटको घडीसँग लड्ने अभूतपूर्व सामर्थ्य दिन्छ । तसर्थ सरकार र सरोकारवालाहरुले भनेका साना ठूला सबै कुराहरु दृढतापूर्वक पालना गरौँ, त्यसैमा हामी सबैको हित छ । यो नै कोरोना भाइरस विरुद्ध लड्ने हामीसँग उपलब्ध एउटै मात्र भरपर्दो हतियार हो ।

अन्त्यमा,

आउनुस हामी सबै मिलेर यो महामारी बिरुद्धको लडाईमा एकबद्ध भएर लडाई गरौ, हाम्रो जित निश्चित छ । अस्वस्थ बानी हटाएर जोखिम कम गरि स्वस्थबर्धक खानपिन र शारीरिक ब्यायाममा ध्यान दिने असल नागरिकको हैसियतले आ-आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निभाएर लडौ । आफू पनि घरमै बसौँ र अरुलाई पनि घरमै बस्न प्रेरित गरौँ । यो लडाईका बिषेश योद्दा कमान्डोको रुपमा प्रस्तुत हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरु अनि सुरक्षा दिने सुरक्षाकर्मीहरु लगायत प्रत्यक्षरअप्रत्यक्ष सबै लडाकुको उच्च सम्मान गरौ ।

(लेखक : जनस्वास्थ्य क्षेत्रमा बिगत लामो समयको अनुभब संगै सामाजिक बिकासको क्षेत्रमा निकै क्रियाशील व्यक्तित्व हुन्)

प्रतिक्रियाको लागि इमेल mn.rajendra@gmail.com )

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार १३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।