विश्व कोरोना माहामारीले तहसनहस अबस्थामा छ । नेपाल सरकारद्धारा पनि यस माहामारी बिरुद्ध सावधानी अपनाउन मुलुक लक डाउन गरेको अबस्थामा छ । यस जटिल र कठिन अबस्था संम्पूर्ण नागरिकहरुले पूर्ण रुपमा सरकारको आदेश पालना गर्नु र आ-आफ्नो तह र तप्काबाट सक्दो सहयोग गर्नु दायित्व हुन् आउछ । मानव सभ्यताको विकाससँगै मानवीय आवश्यकताहरु बढ्दै गयो ।
जङ्गली अवस्थाबाट क्रमशः मानिस आधुनिक युगमा प्रवेश गरिरहँदा मानिसहरुमा आपसि प्रतिस्पर्धा अस्वभाविक रुपमा बढेको छ । अस्वस्थ प्रतिस्पर्धाले मानिसमा अपराधिक मानसिकताको विकास भएको छ । आफन्त र साथी–संगि बिर्सिएको छ । स्वार्थ बढेको छ, घमण्ड बढेको छ, धर्म, नैतिकता, इमान्दारीता बिर्सिएको छ, आत्मियता, सहयोग र सहकार्य हरण भएको छ । आखिर केका लागि ? जवाफ सरल छ केवल सपनाको महलको लागि ।
ठाउँ अनुसार, समाज अनुसार, हैसियत अनुसार हरेक मानवका महल फरक फरक स्वरुपका रहेका छन् । गरिब दुखिहरु रुखका स्याउला र तीतेपातीको बारले बनेको गोठलाई छानो लगाउन पाउँदा कल्पनाको महल वनाउन सफल भएको दावि गर्छन् । यी भन्दा केही सक्षमहरु ढुङ्गा माटो र फुसको छानो भएका घरवालाहरु फुसको छानो जस्तापाताले फेर्न पाउदा गर्भले फुल्छ । एक टाँडको घर दुई टाँडको बनाउन होस् वा घरकै छेउमा छुट्टै अर्को घर (पाली र ग्वाली) बनाई वस्ने रहर टाँडमुनी गाईवस्तु र माथि एकापट्टि सरसामान एकापट्टि एउटा छुट्टै सुत्ने कोठा बनाउने सपना, विस्तारै गाईवस्तु वेग्लै राख्ने ग्वाली वनाउने सपनाहरु ग्रामिण भेगका आम मानिसहरुका सपनाका महल हरु हुन् ।
पूंजीवादको विस्तार, आधुनिकीकरण र भूमण्डलीकरणको प्रभावका कारण क्रमश मानिसहरु गांउबाट शहरतर्फ केन्द्रीत हुन थाल्यो । शहरका मानिसहले महलको कल्पना ग्रामिण मानिसको भन्दा फरक रहेको पाइन्छ । शुरुमा जसोतसो एक टुक्रा जग्गा ब्यवस्था गर्ने, ढुंगा माटोका वा टहरा लगाउने पक्की घर वनाउने क्रमश तला थप्ने सपना वोकेर बाचेका पाइन्छ मानव जगत ।
समाजले आज शहरीयालाई सम्मानको नजरले सुविधाभोगी नजरले हेर्न थाले गांउबाट शहरतर्फ गाउंका सामराज्य छाडेर शहरमा साना एक टुक्रा जग्गामा घर वनाउन पहिले घडेरी अनी घर बनाउदा गर्व गर्ने संस्कार विकास भयो । दुःख साथ सपनाको महलको लागि घडेरी जोड्नु छ, घर बनाउनु छ, तला थप्नु छ, रङरोगन गर्नुछ, कम्पाउन्ड बनाउनु छ र गार्डेन बनाउनु छ । जे होस सपनाको महल बनाउनु छ । उधोग धन्दा, ब्यापार ब्यवसाय रोजगारी वा रातारात करोडौको अनियमितता र भ्रष्टचार गरेर भेला पारिएका सम्पति जे जसरी उपार्जन गरिएको भएपनि प्रयोजन मात्र सपनाको महल बनाउन सीमित रहेको पाइन्छ ।
गाउंको जग्गा जमिन घर खेतीपाती अवमुल्यन भएको छ । सरकारी विद्यालय, सरकारी अस्पताल दोश्रो दर्जामा पर्न गएको छ । मानिसहरुमा गांउ वाट सहर र पहाड वाट तराइ वसाइसराइ गर्नुलाई उपलब्धीको रुपमा लिने संस्कार विकास भएको छ । कृषि पेशालाई सम्मान गर्न सकिएको छैन् जग्गा जमिन वांझो भएका छन् उत्पादन घटेको छ । मुलुक कृषि प्रदान भएता पनि खाध्यन्नमा परनिर्भर हुनुपरेको छ । सरकारले कृषिपेशामा आक्रषक योजना ल्याउन नसक्नु र देशका जनशक्ति आप्ना देशमा केही गर्न नचाहनु तर विदेसमा जस्तासुकै कठिन र जोखिमपुर्ण कार्य गर्न तत्पर रहनु, समाज जवरजस्त पैसामुखि हुनु विचौलिया, दलाल भष्टचार जसरी भए पनि पैसा आर्जन गरे समाजमा रवाफ वढ्ने मान्यता विकास भएको छ ।
शिक्षा, स्वास्थ, यातयात, विधुत जस्ता सेवा सुविधा देशको सवै भेगमा सरल, सहज र प्रभावकारी हुन नसकेका कारण जवरजस्त मानिसहरु शहरको जटिल र कठिन परिस्थिती सामना गरेर भएपनि वस्न बाध्य भएका छन् । जसको कारण सरकारी तथा गैरसरकारी साथै बैँक तथा वितीय संस्थाहरुमा रोजगारी गर्नेहरुको पनि कल्पना शहरमा जसोतसो एक टुक्रा जग्गा किन्ने घर वनाउने सपना लिएर वाचेको देखिन्छ । गांउ पुरै असक्त वृद्ध वृद्धाको आश्रयस्थल बनेको छ गाउंका जवानहरु रोजगारीका लागि नेपालका कुनै भेगमा पुगेका छन् वा वैदेशिक रोजगारीमा पुगेका छन् र हरेक वैदेशिक रोजगारीमा रहेकाहरुको श्रीमान् वा श्रीमति छोरा छोरी पढाउन भनि कमैमात्र गांउमा बसेका पाइन्छ । जसको कारण सहर र तराइमा अनावश्यक भिडभाड बढेको छ भने पहाडका गाउ वस्ती रित्तिने क्रममा छ गाउको उर्वर जग्गाजमिन बाझिएको छ । सहरमा टहरो लगाउन भए भरको जायजेथा लगानी गरेको छ ।
संविधानले हरेक नेपालीलाई आवासको हक सुनिश्चित गरेको छ । सरकारले घर जग्गाको व्यापार वन्देज गरि सम्पूर्ण जग्गा सरकारको स्वामित्वमा राखि राज्यले आप्ना नागरिकका लागि आवासको सरल र सुलभ प्रवन्ध गर्ने हो भने हाल भइ रहेको अनावश्यक लुछाचुडी कमी हुने र हरेक नागरिकको सम्पूर्ण उर्वरशिल समयलाई आवासको चिन्तावाट मुक्त हुने वातावरण सृजना गर्न सम्भव छ ।
खेती योग्य जमिनको अधिकतम उपयोगको योजना ल्याउनसके बिदेसीने युवा युवाती आप्नै मुलुकमा श्रम गर्ने वातावरण बन्न सक्ने थियो, उत्पादन बढ्ने थियो आयत घटाउन सम्भव थियो । समाज र राष्ट्र दुवैको हित हुने थियो । नीजि स्वार्थमा चुर्लुम्म डुबेका दलका नेता सरकारका मन्त्री तथा उच्च पदस्था कर्मचारीहरु मुलुकको समृद्धिको योजना बनाउन ब्यस्थ हुने थियो । दलाल, भ्रष्टचार र अनियमितता कमि हुने थियो ।
अन्त्यमा, यस महामारी कोरोनाले अनियमियतता र भ्रष्टचार गर्न बानी परेका ब्यक्ति वा निकायका महा-महिमहरुलाई पैसा साधनमात्र रहेछ मर्दा खाली हात जाने हो भन्ने सवक सिकाएको छ । जतीनै प्रतिस्पर्धा गरे पनि एकल प्रयासले धान्न नसक्ने आप्नो कावु बाहिरको परिवेश पनि हुदो रहेछ, समानता प्राकृतिक रहेछ सवैमा समान किसिमले लागु हुंदोरहेछ भन्ने चेतना दिएको छ ।
तसर्थ आफै मात्र खाउं आफैमात्र लगाउको स्वार्थी भावना त्यागेर मिलेर बसौ, बाँचौ र बचाउंको भावना विकास गरि यस कोरोना नियन्त्रण गराउन मानवका सामाजिक ब्यवहार संस्कार खानपीनमा आमूल परिवर्तन गराउन आवाश्यक छ । आधरभुत आवाश्यक्ताका सामग्री खाध्यन्न, औषधि, उर्जा आदिको ब्यवस्थापन सरल र सहज वनाउन सरकारले विशेष योजना सहित जिम्वेवारी लिन आवश्यक देखिन्छ । नागरिकहरुले अत्यन्त जटिल अवस्थामा बाहेक जहाँ जुन अवस्थामा रहेको छ त्यही सचेत सजग र सुरक्षित रहनु आवाश्यक छ ।
(लेखक : त्रिभुवन विश्वविधालय शिक्षाशास्त्र संकाय केन्द्रीय विभाग कीर्तिपुरका उप प्राध्यापक हुनुहुन्छ)
















प्रतिक्रिया