प्रिय डायरी,
म जस्तो अन्तरमुखी मान्छेको लागि सबै भन्दा नजिकको साथी तिमी नै हौ। त्यसैले ‘प्रिय डायरी’ भनेर संबोधन गरें। हुन त पहिलो पटक तिमीलाई यसरी संबोधन गरेको हैन, कलेज जीवन देखि अहिले सम्म आउँदा जीवनमा भोगेका ‘जिवन्त अनुभव’ तिमीसँगै बाँडिरहेको छु। तिमीलाई थाहा छ प्रेयसीसँग भन्न नसकेका कुरा पनि सुटुक्क तिमीलाई भनेको छु। उनलाई भन्न नसकेको ‘आइ लभ यू’ सुस्तरी तिमीलाई भनेको छु। तिमीलाई मात्र भन्दा पनि पाएको त्यो खुशि, त्यो सन्तुष्टिलाई बयान गर्न सक्ने शब्द शब्दकोषमा बन्यो भने त्यो खुशिलाई त्यसैगरि व्यक्त गरौला ।
प्रिय डायरी,
आज ‘लकडाउन’को २३ दिन। रातको ११ बजिसकेको छ। चकमन्न छ शहर। अध्यारोको साम्राज्यलाई यताकदा चोकमा भुकिरहेका कुकुरहरूले झस्काइरहे जस्तो प्रतित हुन्छ। तर, मुर्दा शान्ति जस्तो लाग्ने यो शहरमा भित्र भित्र कति उकुस मुकुस होला कसलाई के थाहा / बाहिर शान्त देखिने यो शहर भित्र कति अशान्त होला कसलाई के थाहा ? बाहिर टन्न खाएजस्तो देखिने यो शहर भित्र भित्र कति भोकै होला कसलाई के थाहा ? बाहिर खुशि देखिने यो शहर भित्र कति दुखि होला ? कोरोनाको कहरले छटपटाइरहेको शहरमा केहिजोर पेटहरू भोका होलान्, केहिजोर आखाँहरूमा अनिदा होलान् ।हात खुट्टा र पिठ्यूहरू बेरोजगार भए पछि हिजो पुलमुनी, खोला किनारनेर, सुकुम्वासी वस्तिनजिकै देखिएका मान्छेजस्तै लाग्ने मान्छेका आकृतीहरू आज कता हराए ? कि कतै भोक हड्तालमा छन्रु कि भोकसँगै निल्यो शहरले ?
न तिनीहरूको गाउँ थियो, न तिनीहरुको शहर थियो। धोबिका कुत्ताजस्तै तिनीहरू धोबीखोलाको किनारमा पनि देखिदैनन्। हैन, ति मान्छेहरू कहाँ हराए ? ति मान्छेहरू कहाँ सुतिराखेका छन् ? ति मान्छेहरूले के खाएका छन् ? कि सरकारी अड्डातिर छन् तिनीहरू ? यत्रो दिन तिनीहरूले के खाए ? कसरी बाचिरहेका छन तिनीहरू ? कि मरिसके ? पैसा नहुनेले मर्न पनि नपाउने शहर हो यो। चरम पुजीवादले सिकाएको कुरा यहि हो मर्नु भन्दा पहिला कात्रोको लागी पैसा जम्मा गर। जलाउँदा लाग्ने दाउराको जोहो गरेर मर, नत्र घाट पनि तिम्रो हुदैन। घाटको आगो तिम्रो हुदैन। तिम्रो लागी धुवा लेखिएको हुदैन भाग्यमा। स्वयम भगवान लासको बोलकबोल गर्छन पुजीवादी संसारमा। त्यसैले शंका लाग्छ कि तिनीहरू पुलमुनी नै मरिसके, कि खोलाको किनारमै मरिसके। नत्र तिनका छायाँहरू कता हराए ?
म कहिले काहि सोच्छु, मेसिनमा स्वास समेत हाल्न लागि पर्ने, चन्द्रमामा वस्ति वसाउन सक्ने, मंगल ग्रहको खोज र अन्वेषण गर्न सक्ने, एउटा कोठामा बसेर सारा ब्रमाण्डको अनुगमन गर्न सक्ने यो संसारमा पाजि कोरोनाको औषधी पत्तालगाउने सामर्थ रहेन छ ! हुनत त पुजिबादको मात्र के कुरा भोर, कृतिम समानतामा विस्वास गरेर ‘युटोपियन’ संसारको कल्पनागर्ने साम्यवादीहरूले डाको छाडेर रोएको कतै स्वर्गतिर मार्क्स बुढाले सुने भने पुनः साम्यवादको परिभाषामा गर्लान की ? मेरो लाटो बुद्दीले त्यसको भेद पाउन सकेन।
प्रिय डायरी,
यो बेलामा आर्यघाटमा घाटेहरू बेरोजगार हुनुले २१ औ सताब्दीमा कतै मान्छेको रोगमाथी समेत बोलकबोल त हुदैन भन्ने जिज्ञाषा उत्पन्न गराएको छ। अविकसित देश आविकसित देशको औषधीको प्रयोगशाला हुने वर्तमान अबस्थामा कतै हामी ती औषधिको प्रयोगबाट प्रताडित त थिएनौ ? कतै हाम्रा अस्पतालहरूमा ति औषधिको प्रयोग त भएको थिएन ? नत्र किन आर्यघाट सुनसान रहेको छ त यो लकडाउनको बेला ? मृत्यु दरमा कमि आउनाको कारण के हो त ? यस्तै प्रश्नको भारी बोकेर थकित छ मेरो दिमाग।
प्रिय डायरी,
रोग भन्दा भयानक, मृत्यु भन्दा डरलाग्दो चिज केहि हुन्छ भने त्यो हो ‘भोकको आगो’। जब पेटभित्र भोकले बिद्रोह गर्न सुरु गर्छ त्यस पछि मान्छे केहि कुराको पनि चिन्ता नगरि सडकमा निस्कन्छ। जब भाषणले पेट भरिदैन, आसस्वनले तृष्णा मेटिदैन मान्छे निडर हुन्छ। जव स्वयम मान्छे मृत्युको डर देखि आजाद हुन्छ, उसलाई के को डर ? उसलाई के को नियम, उसलाई के को संविधान ? भोकका ज्वालाहरूले संविधान पढ्दैनन् प्रिय ! सायद तिनै पुलमुनीका खोला किनारका मान्छे पो हुन्की जो लाम लागेर सडकमा देखिन थालेका छन्।
काधमा पोका बोकेका सैनिक जस्ता लाग्ने केहि दर्जन मान्छेहरू कुनै डर बिना कोरोनाबिरुध्को लडाईमा मोर्चा कसेर लामो दुरीको यात्रा तय गरिरहेका छन। भोक शहरबाट गाउँतिर कुदिरहेको छ। भोकलाई शहरको विस्वास छैन। आफन्त नभएको शहरमा भोक आफन्तहरूको वस्तितिर कुदिरहेको छ चाहे ५०० किलोमिटरको यात्रा किन नहोस् ! तिनीहरूलाई थाहा छ, काठमाडौँले भाषण दिन्छ, रासन दिदैन। आशस्वन दिन्छ आसन दिदैन। बरू काठमान्डौले केहि ‘जोक’ दिन्छ, ठट्टेउली दिन्छ, हिस्सिटिउरी दिन्छ, के गर्नु हासोले पेट भरिदैन। मलाइ डर लाग्छ, यसै गरि केहि समय लकडाउन लम्बियो भने- मान्छेले शहरमा के खान्छ ? मान्छे शहरमा कसरी बाच्छ ? जब धेरै भोका मान्छेहरू पेटभरि भोकको आगो बोकेर सडकमा निस्किन्छन त्यस पछि के हुन्छ ? मलाई डर लाग्छ, प्रिय । हरे ! अनि आफैलाई दिक्क लागेर आउछ र प्रश्न गर्न मन लाग्छ ‘ सरकार तिमी कता छौ ?’
यो सब एकजुट हुने वेला हो। सरकारलाई सहयोग गर्ने वेला हो। अनावश्यक तुष्टिपालेर झोक देखाउने बेला पनि त हैन न नि यो । तर हामीले सोचे जस्तो गंभिर सरकार छ जस्तो लाग्दैन। ‘ नेपालीमा एउटा उखान छ ‘हग्ने वेला… खोज्ने’ प्रवृतिले देशलाई कमजोर बनाएको छ । प्रजातन्त्र आएको पनि ३० वर्ष पुगेछ । ४६ सालमा जन्मेको बच्चा ३० वर्षको भयो। मतलव प्रजातन्त्र पनि ३० वर्षको पुगेछ।तर, कहिल्यै पाको हुन सकेन हाम्रो प्रजातन्त्र । ३० वर्ष अगाडि एउटा गतिलो उध्योग खोलेको भए, गतिलो हस्पिटल खोलेको भए गतिलो अनुषन्धान केन्द्र खोलेको भए, फ्याक्ट्री खोलेको भए , कपडा उध्योग खोलेको भए… ती सब तीस वर्षका हुने रहेछन्। तर, यो ३० वर्षमा ३० पटक सरकार गठन भए होला, पालैपालो सत्ताको स्वाद चाखे होलान तर, देशले के चाख्यो ? देश कहाँ पुग्यो ?
३० वर्ष अगाडि हाम्रा केहि नेताहरू कति वर्षका थिए होलान ? आज पनि तिनै नेताहरू छन्। व्यवस्था पनि उनीहरूले नै चाहेको छ। अब दोष लगाउने व्यक्ति र व्यवस्था पनि छैन। समयको वहाबमा वग्दै आउने विकास बाहेक यो गएको ३० वर्षमा हाम्रो जीवनमा के परिवर्तन भयो भनेर सोच्छु। आधी जनता देश बाहिर छन्।
खेतबारी बाझै छ। के फस्टायो र राजनैतिक व्यपार बाहेक ! नेताहरूको जीवन शैली फेरियो, गौथलीका गुँड पनि फेरिए, आचरण फेरिए, केहि सर्वहारा बुर्जुवा बने, साम्यवादी पुजिवादी बने, अरू के फेरियो र ? सायद अब दोष लगाउने ठाउँ भनेको कार्यकारी राष्ट्रपती भएन भन्ने होला। त्यो पनि भयो भने अनि कसलाई दोष दिने ? के थाहा, दोहोरिरहने हाम्रो इतिहास त्यसपछि कुन दिशामा जाने हो ? यो इतिहासको पुनरावृतिले हाम्रो आउँदो पुस्तलाइ कुन भङ्गालोमा लगरे जाक्ने हो, थाहा छैन।
इतिहासको मृत्यु भन्नेहरू हाम्रो इतिहास हेरे भने इतिहासको पुनर्जन्म भनेर नलेख्लान भन्न सकिन्न । भर्खरै हरिहर दाजुले ३० वर्ष अगाडी बाग्लुङ् जेलमा पर्दाको फोटो पोस्टाउनु भो फेसबुकमा। हरे ! ३० वर्ष कम्युनिष्ट आन्दोलनमा लागेको एउटा इमान्दार मार्कसवादको विध्यार्थीले अझै फेसवुकमा यस्तो लेख्नु परेको छ “पन्चायत फाल्ने पार्टीमा अवसरबादी, विचारहिन, राजनितिलाई पैसा कमाउने, जागिर खाने साधन बनाउनेहरू हावी भएको कारण ३० वर्ष पछि पनि न गरिवको मुहारमा खुशि आयो न धनी गरिव बिचको खाडल पुरियो” ! देखेर खिस्स हाँस्दा हुन स्व. रुपचन्द्र र भन्दाहुन् “यो देशमा बेइमानी गर्ने अवसर नपाएका मात्र इमान्दार छन्”।
अस्तु !
(टीएन भट्ट ‘विश्वामित्र’ ९८५१०६६८६४)
















प्रतिक्रिया