Logo

विचार / ब्लग

‘भोकले लखेटिएको लाचार एक यात्री’काे प्रधानमन्त्री केपी ओलीलाई ‘खुल्ला पत्र’



सम्माननीय प्रधानमन्त्री ज्यू !
नमस्कार !

यति बेला म काठमाण्डौ देखि नवलपरासी सम्मको पैदल यात्रामा छु । यो यात्रा कुनै कृतिमान कायम गर्न गरेकी होइन । न कुनै तिर्थ यात्राको लागि गरिएको हो । यो मेरो रहर होइन । न मृत्यु देखि भागेकी हुँ । हुँ त केवल भोकले लखेटिएको लाचार एक यात्री । जुन भोकै पेट भए पनि आफन्तहरुको माझमा पुग्न चहान्छ । जहाँ पुगेर मरिहाले भने पनि कुनै पछुतो हुनेछैन ।

मलाई थाहा छ, यति बेला विश्व नै कोरोना भाइरसको कहरमा छ । हामीले रोकिनुपर्छ । जहाँ थियौ त्यहा तर खाली पेटले बन्द कोठामा बस्दा निकै आन्दोलन गरेपछि हिडुन बाध्य भएको हुँ । पाँच दिन देखि पैदल यात्रामा हिड्दा मेरो शरीरको हर कोशिकाहरु यति बेला थकित छन् । लगाएको पातलो चप्पलबाट पनि पाइतलाहरुले पिच बाटोको तातो थाहा पाउँछ । दिन रात केही नभनि यो मनले पाइलाहरु अघि बढ् भन्छ तर शरीर शिथिल बनेपछि बाटोको छेउमै लम्पसार पर्छु ।

यति बेला म आफ्नै देशको भुगोल आफ्नै पैतलाले नापेको छु त्यो पनि भोकको लडाईको लागि । यहाँ कुनै विजयी प्राप्त गर्न लडिएको होइन मात्र एक छाक भातको लागि सयौं किलो मिटर हिडेको हुँ । कसलाई रहर छ र यति कष्टले यात्रा गर्न ! तपाईको मन्त्रालय नजिकै मर्न भन्दा आफ्नै गाउँको आगनमा मर्ने इच्छा भएर म लागायत धेरै मजदुरहरु हिडिरहेका छन् । बुढाबुढी, केटाकेटी गर्भवती, रोगले र भोकले जिर्ण बनेका शरीरहरु यति बेला तपाईले लाखौं खर्चेर बनाएको सडकमा लास जस्तै पल्टिएका छन् ।

काम गरेर खानेहरुलाई बाँच्न कहाँ सजिलो हुँदो रहेछ र ? डेरामा किनेर राखेको रासन सकिएपछि राहतका लागि झोला बोकेर कहाँ कहाँ पुगिएन ? राहतको लाइन दिन भरि बसिसकेपछि नागरिकता नहुँदा नेपाली होइन भनी रित्तै झोला फर्काए पछि यो ठाँउ छोड्न बाध्य भएकी हुँ । मेरो सात पुस्ता यही देशको नागरिक हुन् । यो कुरा बाले भन्थे । तर म मेरो देशमै नागरिक नभएको र देशको जनता होइन भन्ने थाहा पाएपछि भोको पेटमा घर जानेहरुको समूहमा थपिएकी हुँ । के त्यसो भए नागरिकता मेरो साथमा नभएको बेलामा म नेपाली होईन ???

प्रधानमन्त्री ज्यू

मैले जस्तै यहाँ यात्रा गरेर पश्चिमको जिल्लाहरुमा जाने यात्रीहरु छन् । पाल्पा देखि जनकपुर जानेहरु देखि लिएर यहाँबाट सल्यान, जाजरकोट सम्म जानेहरु नेपाली होइनन् ? मैले यति बेला दिउसोभरि लाइनमा बसेर बनाएको मेरो भोटर कार्ड र दिउसोभरि लाइन मै बसेर भोट हालेको भूलेको छैन् । मेरो भोट, भोट बाहेक मेरो औकात छैन र ? नेपालमा रहेको दुइजना भुटानी शरणार्थीहरुलाई उसको देशका नेताहरुले चार्टर गरेर लगे । तर हाम्रै देशमा आफ्नो जनताबीच बाटोमा अलपत्र हुँदा के तपाईलाई दया लाग्दैन । तपाइले म जस्ता पैदल यात्रीहरुलाई करेण्ट टाइममा नै राखिदिनु । केही फरक पर्दैन । हामी बस्न तयार छौ मात्र यति हो हामीले खान पाउनुपर्छ । भोकै मर्नु त देशकै लागि लाजमर्दो हुन्छ भनेर हामी यसरी हिडेका छौ ।

बाटोमा हिडुदै गर्दा मान्छेहरुले हामीलाई पानी सम्म दिन पनि डराउछन् । हामीले चाउचाउ किन्न पनि हामीसंग पैसा छैन् । घण्टौ हिडेर पेटभरि पानी पिउनु बाहेक हामीसंग बिकल्प छैन् । के मेरो देश यति साह्रै निर्दयी छ र ? आफ्नै देशमा भगौडा भएर बाँच्न पर्ने लाचरीपनमा हामीले हाम्रा सन्तानहरुलाई के सन्देश दिउला । इतिहासमा लेखिने त छैन हाम्रो पीडाहरु तर हामीलाई बाँच्दा सम्म सधै एैठन हुने छ । के यसले राज्यलाई दुख्दैन । हो आफ्नो देशमा त यस्तो छ भनेपछि अरु देशमा के होला । रेमिट्यान्स तिरेका युवाहरु पराई देशको नागरिक भएर कसरी बाँचेका होलान त्यो तपाईहरु जस्तो महलमा बस्नेहरुलाई थाहा छैन । एक पाइला पनि हिड्ने बानी नभएका तपाइहरुले रगतको पसीना बगाएर यात्रा गरेको कहिल्यै महशुस गर्नु हुने छैन ।

मैले पत्र लेख्नुको मुख्य उद्देश्य भनेको म लगायत घर जान चाहानेहरुलाई घर सम्म पुग्न सहयोग गरिदिन हो । यदि सरकार पक्षले यो गर्न सक्दैन र कोरोना भाइररसको नियन्त्रण गर्न नै गरेको भए हामी जहाँ छौ त्यहा रोकिन्छौ । त्यहा हामीलाई खाने र सुत्ने व्यवस्था मिलाइ दिनु । म जहाँ छु त्यही रोकिन्छु । कोही हिडेर घर जाने छैन ? तपाईले हाम्रो दुख बुझेर हामीलाई नागरिक मानीदिनु । हामी बाँच्न चाहान्छौ । हाम्रो पनि बाच्ने मन हुन्छ तर भोको पेटमा हामी निदाउन सक्दैनौ, रोकिन सक्दैनौ हामीलाई हाम्रो देशको नागरिक हुनुको आत्मग्लानी होइन । नेपाली हुनुको अभिमान बढाइदिनुहुन सम्माननीय मन्त्री ज्यूलाई आग्रह गर्दछु । धन्यबाद ।

उही तपाईको पैदल यात्री

प्रकाशित मिति : ७ बैशाख २०७७, आईतवार १६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।