बिमा समितिले ल्याएको योजना कोरोना बिमा गराउने सर्वसाधारणको संख्या ४ लाख ७५ हजार ६८६ जना पुगेको छ । अहिलेसम्म बिमा कम्पनीले २६ करोड १७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको निर्जीवन बिमक संघका महासचिव चंकी क्षेत्रीले अनलाइनपानालाई जानकारी दिएका छन् ।
सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै बिमासम्बन्धी नयाँ योजना ल्याएको थियो । बिमा चलिरहेको समयमा बिमा कम्पनीहरुको आग्रहमा यो योजना एक दिन बन्द भए पनि पछि फेरि नियमित गरिएको थियो । हालसम्म दावी भुक्तानी गर्नेको संख्या ४ जना पुगेको छ भने १ जनालाई कम्पनीले दावी भुक्तानी गरिसकेकाे छ ।
कोभिड–१९ बिमा गराएका कृषि विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि नेको इन्स्योरेन्सले उनलाई एक लाख रुपैयाँ भुक्तानी दिएको हो । समितिले एक हजार रुपैयाँमा, एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था गरेको छ ।
परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ । बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमांक रकम पाउनेछन् ।





















प्रतिक्रिया