नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘चिप्लिएको’ टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका दाहाललाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका छन् ।
नेता भीम रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा औंल्याएका छन् ।पोखरेलले दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै शनिबार फेसबुक पेजमा लामो स्टाटस (हेर्नुहोस् पृष्ठ २) लेखेका छन् । उनले पार्टी एकता घोषणा गर्दा गम्भीर छलफल र समीक्षा नभएको भन्दै सनक र उन्मादमा रमाउनेलाई पार्टी नेतृत्वमा ल्याउँदा दुर्भाग्य हुने भनी दाहालप्रति कटाक्ष गरेका हुन् ।
‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन/ल्याइनै हुँदैन,’ पोखरेलले भनेका छन्, ‘अझ सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।’ पोखरेलले सरकारका कामकारबाहीको बचाउ पनि गरेका छन् ।
दाहालले शुक्रबार एक कार्यक्रममा सरकार संविधानको मर्मअनुसार नचलेको भन्दै ओलीको कार्यशैलीको कडा आलोचना गरेका थिए । उनले माओवादी समाप्त भएको रूपमा नबुझ्न जिकिर गर्दै ‘अर्को माओवादी’ जन्मिने चेतावनी दिएका थिए । नेता रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा रहेको औंल्याए । ‘देश र सरकारबारे बोल्दा विगतमा पार्टी फुटेको छ, त्यसलाई स्मरण गर्दै पार्टी एकीकरणको काम चाँडै टुंग्याउनुपर्छ,’ उनले कान्तिपुरसँग भने ।
दुई अध्यक्षबीचको विवाद भेनेजुएला प्रकरण र पार्टी एकीकरण प्रक्रियासँग सम्बन्धित रहेको उनले बताए । ‘तीन महिनामा एकीकरण हुने भनिएको पार्टी ९ महिना बित्दासमेत हुन सकेको छैन । हजारौं नेता तथा कार्यकर्ता कामविहीन छन्,’ उनले भने, ‘विगत स्मरण गर्दै पार्टी एकतालाई प्राथमिकतामा राखेर चाँडै टुंग्याउनुपर्छ ।’
भेनेजुएलाको राजनीतिक संकटबारे दाहालले दिएको वक्तव्यलाई ओलीले स्वामित्व नलिएपछि दाहाल ओलीसँग चिढिएका थिए । अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखेपछि ओलीले दाहालको वक्तव्यको स्वामित्व लिन चाहेका थिएनन् । उनले दाहालको अभिव्यक्ति हतारोमा आएको र शब्द चिप्लिएको भनी टिप्पणी गरेका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दाहालको असन्तुष्टि भेनेजुएला प्रकरणसँग मात्र सम्बन्धित नभएको बताए । ‘भेनेजुएला धेरै चिच्याइएको विषय मात्रै हो । यो कारणबाट त्यस्तो अभिव्यक्ति आएको होइन । अध्यक्ष दाहाल, पार्टी सचिवालय र सरकारले दिएको वक्तव्यको सार आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुन्न भन्ने नै हो,’ उनले भने, ‘साम्राज्यवादी भन्ने शब्द हाम्रो आइडियोलोजी हो ।’
दाहालबाट सरकारका कमीकमजोरी समीक्षा गरेर समृद्धिको लक्ष्य पूरा गर्ने दिशामा जानुपर्ने भनाइ आएको उनले प्रस्ट्याए । ‘यत्रो परिवर्तन गर्यौं, जनताले के पाए त ?’ उनले भने, ‘मूल्यांकन गर्दा त केही पाएका छैनन्, संघीयता कार्यान्वयन गर्ने, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र पार्टी एकीकरणलाई समेत टुंग्याउने भावना दाहालले राख्नुभएको हो ।’
नेता योगेश भट्टराईले सरकारको नीति, कार्यक्रम र उद्देश्य सही भए पनि दिशा पक्डन नसकेको बताए । ‘मौसमी खराबीका कारण जहाजले सही दिशा समात्न सकेको छैन,’ सरकारप्रति लक्षित गर्दै उनले भने, ‘मौसम सुधार्दै उडानलाई सहज बनाउनुपर्छ । अहिले अध्यक्ष प्रचण्डको अभिव्यक्ति पनि त्यसै दिशामा केन्द्रित छ ।’ उनले पनि दाहालका अभिव्यक्ति भेनेजुएला प्रकरणमा मात्र सीमित नरहेर सरकारका काम, पार्टी एकता र शान्ति प्रक्रियाका कामसँग जोडिएको जनाए ।
‘पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया, सरकारको काम र पार्टी एकतामा अर्का अध्यक्षको ध्यानाकर्षण गराउन नै दाहालको अभिव्यक्ति आएको हो,’ भट्टराईको भनाइ छ, ‘शान्ति प्रक्रिया मागी खाने भाँडो नबनाई चाँडै सम्पन्न गरिनुपर्छ । राजनीतिक कोर्स बदल्न हुन्न भन्ने नै दाहालको अभिव्यक्ति हो ।’
दुई अध्यक्षबीचको तिक्तताले नेकपाभित्र नयाँ ध्रुवीकरणको सम्भावना बढेको कुरालाई भने श्रेष्ठ र भट्टराईले अस्वीकार गरे । ‘पार्टीको एकता र सरकारलाई हरहालतमा सफल पारिन्छ,’ श्रेष्ठले भने, ‘तर यी दुई लक्ष्य पूरा गर्न गम्भीर छलफल र नयाँ कार्ययोजना आवश्यक छ ।’ भट्टराईले ओली र दाहालको कारणले मात्रै पार्टी एकता नभएको भन्दै फुट्ने सम्भावना नरहेको बताए ।
‘पार्टी एकताप्रति हामी उत्तिकै जिम्मेवार छौं, प्रचण्ड र केपी ओलीले मात्रै एकता गरेको होइन । एकता प्रक्रियामा सम्पूर्ण पूर्वमाओवादी र पूर्वएमालेका नेता–कार्यकर्ताको भावना र चाहना जोडिएको छ,’ उनले भने, ‘दुई नेताले चाहँदैमा पार्टी फुट्दैन ।’
ओली–दाहाल भेट
सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएको भोलिपल्टै शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा दुई जनाबीच मात्र भेटघाट भएकाले त्यसका विषयवस्तु गोप्य राखिएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया